छोरी हेर्नका लागि आँखा बन्छन्
फेर्नका लागी सास बन्छन्
परीक्षा जहाँ जहाँ दियो बरू परीक्षा नै फेल होला
उनीहरू पास बन्छन्
छोरी
घाममा चौतारो बन्छन्
झरीमा छाता बन्छन्
अरूलाई पस्किदा पस्किदै
भाँडोमा भात सकियो भने
आज मलाई खान मन छैन भन्छन्
तर पनि छोरी किन अझै
जन्मेको घरमा बस्न पाउँदैनन् ?
लाल पूर्जामा पस्न पाउँदैनन् ?
मेरो परिवारमा यति जना छन् भन्नुहुन्छ बा आमाले
तर पनि छोरी किन गन्तिमै आउँदैनन् ?
- कवि अर्जुन पराजुली
कवि अर्जुन पराजुलीले बैशाख १० गते मानव अधिकार तथा शान्ति समाजको कार्यक्रममा यो कविता वाचन गरिरहॅंदा कवि स्वयम त भक्कानो छोडेर रोए रोए उपस्थित सबैका आँखाबाट आँसुको भल बग्यो। वातावरण स्तव्ध भयो ।हामीले धेरै परिवर्तन देख्यौं ती परिवर्तनको अग्रपंक्तिमा आमा ,दिदी ,बहिनी ,छोरीहरू निरन्तररुपमा डटीरहे । तर पनि आजसम्म हामीले तिनै छोरीहरूलाई समान अधिकार दिन कन्जुस्याईं गरिरहेका छौं । छोरा र छोरी बीचको त्यो विभेद आज पनि ज्यूँकात्यूँ छ । त्यो भन्दा ठूलो खाडल जातीय विभेदको छ । त्यही जातीय विभेदको जालो तोड्न र सामाजिक न्यायको पक्षमा मानव अधिकार तथा शान्ति समाज निरन्तर रूपमा लागि परेको छ ।
पछिल्ला दिनहरूमा शान्ति समाजले आफ्नो अभियानमा श्रष्टाहरूलाई जोड्न थालेको छ । आफ्ना मनकारी शुभचिन्तकहरूको सहयोगमा केही पुरस्कारको समेत स्थापना गरेको छ । श्रष्टा र सामाजिक न्यायका लागि काम गर्ने दलित समुदायलाई नै केन्द्रमा राखेर उनीहरूलाई सम्मान र पुरस्कृत गर्दै आएको छ । यसै मेसोमा समाजले बर्ष २०८० को “कर्म योगी बद्री पहाडी पुरस्कार “विष्णुमाया परियारलाई दिने निर्णय गर्यो ।
सन् १९७३ को डिसेम्बर १९ मा गोरखामा जन्मेकी डाक्टर विष्णुमाया परियारको कथा अत्यन्त कहालीलाग्दो छ ।विष्णुमायाका १० दिदी वैनी । बा आमा पढेलेखेका नभए पनि उनका बुवामा छोरीहरूलाई पढाउनु पर्छ भन्ने एउटा जागृत चेत थियो । त्यसैले दिनभर आाफूले लुगा सिलाउने साँझ बिहान, डोको वा थुन्सेमा कपडा राखेर विष्ट (कथित उपल्लो जातका मानिसहरु ) कहाँ पुर्याउने काम विष्णुमायाको आमाले गर्ने । दुःखका पहाडहरू छिचल्दै विष्णुमायाका बाआमाले आफ्ना छोरीलाई स्कूल पठाउँथे। उनीहरुसँग स्कुलको औपचारिक ड्रेस हुँदैनथ्यो । विष्टका छोराछोरीका लुगा सिलाउँदा उब्रेका टाला बटुलेर बाले सिलाएको नौथरि रंग भएको टाटेपाटे फ्रक लगाएर उनी र उनका बहिनीहरु स्कुल जान्थे । उनीहरू स्कुलमा हेयका पात्र हुन्थे । घर आएर बालाई सोध्थे-‘बा हामीलाई अरूले किन अर्कै नजरले हेर्छन् ? उनीहरू र हामीबीच के फरक छ र ?’ बा ले भन्थे-‘ पढ्नुपर्छ नानी हो पढेपछि सबै थाहा हुन्छ र विभेदको पनि अन्त्य हुन्छ ।’
यतिवेला विष्णमायाका पिताजी यो भौतिक संसारमा हुनुहुन्न। तर आफ्नो जीवनको संपूर्ण प्रेरणाको श्रोत बा नै हुन् भन्छिन् विष्णुमाया। विष्णुमाया हाम्रो समाजको प्रतिनिधि पात्र मात्र हुन्। पिसकोर स्वयम सेवकले उनको लगनशीलतालाई देखेर उच्च शिक्षाको लागि अमेरिका जाने अवसर नदिलाएको भए शायद विष्णुमायाले आज पर्यन्त छोईछिटोकै विरूद्ध संघर्ष गरिरहनु पर्थ्यो ।
डाक्टर विष्णुमाया परियारको जीवनकथा अमेरिकाको म्यासाच्युसेटस राज्यको शिक्षा विभागद्वारा कक्षा ७ को पाठ्यक्रममा समेत संलग्न छ ।यसैगरी उनको जीवन संघर्षको गाथा पनि प्रकाशित भएका छन् ।अधिकारका क्षेत्रमा क्रियाशिल संस्था एशोसिएसन फर दलीत वुमन्स एडभान्समेट अफ नेपालकी संस्थापक अध्यक्ष डाक्टर परियारले अमेरिकाको क्लार्क विश्व विध्यालयबाट स्नातकोत्तर गरेकी छन् भने पाई म्यानर कलेजले सन् २०१३ मा मानार्थ डि.लिट॰(डक्टर अफ लेटरस) ले सम्मान गरेको थियो । उनका घरेलु हिंसा र जातीय विभेदसम्वन्धी दुईवटा पुस्तक प्रकासित छन् ।
अमेरिकामा डा. विष्णुमाया परियार डे घोषणा
राष्ट्रिय र अन्तर्राष्ट्रिय ४० बढी पुरस्कारहरूबाट सम्मानित डा. विष्णुमाया परियारलाई सन् २०१५ मा उनले समाजमा पुर्याएको योगदानको कदर गर्दै अमेरिकाको केन्टुकी राज्यको लुईभिल शहरका मेयर ग्रेग ई फिसरले प्रोक्लेमेसन पत्रद्वारा सेप्टेम्बर २७ तारिखलाई “डा. विष्णुमाया परियार डे” घोषणा गरिएको छ । यसरी जीवित नेपाली व्यक्तित्वको नाममा दिवस (डे) घोषणा गरेर विदेशीभूमिमा सम्मान गरिएको यो पहिलो ऐतिहासिक दिन हो ।
नेपालको कुल जनसंख्याको आधाभन्दा बढी हिस्सा महिलाहरूको छ । तर पनि महिला पुरूष विचको विभेद कायमै छ । शहरमा हेर्दा विभेद छैन कि जस्तो लागे पनि गाउॅं गाऊॅं मा छोराछोरी बीचको विभेद यथावत छ । अझै पनि सन्तानले आमाको नाममा नागरिकता पाउन नसकेको वा धेरै झंझट झमेला व्यहोर्नु परेका घटनाहरू सुन्न र देख्न पाईन्छ जुन अत्यन्त लज्जाको विषय हो । अझ दलित समुदायमाथि भै रहेको जातीय विभेदले हामीलाई मर्माहत बनाएको छ । २०६२/०६३ को ऐतिहासिक जनआन्दोलन पश्चात सामाजिक समानताको पूर्णत प्रत्याभूतिको अपेक्षा गरिएको थियो ।तर दुर्भाग्य जातीय विभेद अन्त्य भएन र छुवाछुत निर्मुल हुन सकेन । संवैधानिक ,कानूनी र अन्तरराष्ट्रिय प्रतिवद्धता हुँदाहुँदै पनि विभेदको हिंसाको डढेलो निभ्न सकेको छैन ।
दण्डहीनता मौलाएकै कारण यसो हुन गएको हो भन्दा अतिशयोक्ति नहोला ।
किन हामी मान्छे हुन सकेनौं ? यो प्रश्नको उत्तर सवै मिलेर खोज्नुपर्ने हुन्छ । कवि अर्जुन पराजुलीलेले कवितामार्फत हाम्रा छोरीहरूको अवस्था चित्रण गरेर हामी स्वयमलाई चुनौती दिएका छन् । किन हामी आफ्नै घरमा छोरीलाई विभेद गरिरहेका छौं ? परिवर्तन आफैबाट शुरू गरौं, आजैबाट शुरू गरौं ।
प्रतिक्रिया