महराले भने, ‘सरकारलाई अनुसन्धानमा सघाउन तयार छु’

महराले भने, ‘सरकारलाई अनुसन्धानमा सघाउन तयार छु’



दाङ। पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करीको प्रकरणमा अनुसन्धानका लागि सरकारलाई सघाउन आफू तयार भएको बताएका छन् । मंगलबार दाङमा पत्रकारसँग कुरा गर्दै महराले यस्तो बताएका हुन् ।

सुन तस्करीमा आफ्नो संलग्नता रहेको आशंका गर्दै अनुसन्धानको दायरामा ल्याउनुपर्ने आवाज उठिरहेको बेला अनुसन्धानका लागि सरकारलाई सघाउन आफू तयार रहेको बताएका छन् । ‘सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानबिनका लागि सघाउनका निम्ति तयार छु । छानबिनमा सरकारलाई सघाउन तयार रहेको कुरा भन्दै पनि आएको छु । अनुसन्धानका लागि मलाई बोलाउनुस् पनि भनेकै छु । तर बेलाउँदैनन् त के गर्नु र ?,’ उनले भने ।

चिनियाँ नागरिक वाङलाई फलफुल व्यापारिका रुपमामात्र चिनेको बताएका उनले सुन तस्करी प्रकरणमा विनाकारण आफ्नो नाम मुछिएको आरोप लगाए । वाङको नाम सुन तस्करी प्रकरणमा मुछिएको छ । तर, महराले वाङले आफूलाई भेटेर एक जना साथीको इलोक्ट्रोनिक चुरोट भन्सारमा रोकिएको र भन्सारबाट निकालिदिन भनेर आग्रह गरेको बताए ।

उनले भने, ‘मैले भन्सारका साथीहरुलाई कुराकानी गरेर कानुन अनुसार हेरेरमात्र काम गर्नुहोला, रोक्नु पर्ने भए रोक्नु होला, भनेका हो । यो प्रकरणमा भएको यत्ति हो,’ उनले भने, ‘यसैलाई आधार मानेर बाहिर सञ्चार माध्यममा गलत प्रचार गर्ने काम भयो ।’