रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार हुने, यस्तो छ मतभार

रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार हुने, यस्तो छ मतभार


ग्लोब नेपाल
4.7k
Shares

काठमाडौँ । राष्ट्रपतिको उम्मेदवार तय गर्न काँग्रेसले भोलि बिहान साढे ८ बजे कार्यसम्पादन समितिको बैठक बोलाएको छ । काँग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्ण सिटौलाको दाबी छ ।

कतिपयले सभापति शेरबहादुर देउवा राष्ट्रपति बन्न सुझाएका छन् । तर उनले अहिलेसम्म कुनै रुचि देखाएका छैनन् । एक नेता भन्छन्, ‘उहाँले नै चाहनुभयो भने त सजिलै सहमति जुट्छ, तर अहिलेसम्म उहाँले आफू उम्मेदवार बन्ने सङ्केत समेत गर्नु भएको छ ।’

त्यसैले आज पौडेल र सिटौला मध्ये एक उम्मेदवार हुने सम्भावना छ । काँग्रेसका शीर्ष नेताहरूका अनुसार काँग्रेसबाट राष्ट्रपतिको उम्मेदवारमा पौडेलको नाम करिब टुङ्गिए जस्तै हो ।

यद्यपि सिटौलाले अझै आस मारिसकेका छैनन् । उनले आफूलाई राष्ट्रपतिको उम्मेदवार बनाउन लबिङ गर्दै आएका छन् । बन्द कोठामा हुने कतिपय छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले सिटौलाको नाम लिने उनी निकटवर्तीहरुको दाबी छ । तर कसलाई उम्मेदवार बनाउने भन्ने काँग्रेसको विषय भएको र सभापति देउवासहित संस्थापन पक्षका सबैजसो नेता पौडेलको पक्षमा रहेको नेताहरू बताउँछन् ।

संसदीय दलको निर्वाचनका क्रममा पौडेललाई वचन दिएका कारण पनि देउवा दबाबमा छन् । १४औँ महाधिवेशनमा तटस्थ रहेर देउवालाई सहयोग गरेका पौडेल संसदीय दलको चुनावमा प्रस्तावक नै बसेका थिए । देउवा पक्षका केही नेता राष्ट्रपति बनाउने प्रतिबद्धता जनाएपछि मात्र पौडेल देउवाको समर्थन बसेको नेताहरू बताउँछन् ।

माओवादी केन्द्रसहितका दलको समर्थन पाएपछि राष्ट्रपतिको चुनावमा काँग्रेसको जित पक्का जस्तै छ । संघीय र प्रदेश सभाका सांसदको मतदानबाट राष्ट्रपति हुन कुल ५२ हजार ६२८ मत भारमा ५० प्रतिशत बढी अर्थात् २६ हजार ३१५ मतभार पुर्‍याउनु पर्दछ ।

काँग्रेससँग १६ हजार १४२, माओवादीसँग ७ हजार ७४५, एकीकृत समाजवादीसँग दुई हजार ५७४, जसपासँग दुई हजार १४५ मतभार छ । जनमत, नागरिक उन्मुक्ति, लोसपा र राष्ट्रिय जनमोर्चा पनि थपिएकाले २५ फागुनमा हुने निर्वाचनको नतिजाप्रति काँग्रेस ढुक्क छ ।