समृद्धिको आकांक्षा पूरा गर्न गैरआवासीय नेपालीको भूमिका महत्त्वपूर्ण : राष्ट्रपति

समृद्धिको आकांक्षा पूरा गर्न गैरआवासीय नेपालीको भूमिका महत्त्वपूर्ण : राष्ट्रपति



काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ११औँ विश्व सम्मेलन, एनआरएनए अन्तर्राष्ट्रिय महासभा र तेस्रो एनआरएन ज्ञान विश्व सम्मेलन आजदेखि यहाँ सुरु भएको छ ।

‘ज्ञान र रुपान्तरण, समृद्धिको आधार’ नारासहित सुरु भएको विश्व सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विश्वभर छरिएर रहेका नेपालीलाई एकताबद्ध गर्न एनआरएनएको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । विश्वको जुनसुकै कुनामा रहे पनि नेपाली भएको उनको भनाइ थियो ।

मुलुकमा राजनीतिक परिवर्तनपछि आर्थिक समृद्धिको बाटो समात्न ढिला भएको भन्दै उनले सङ्क्रमणकाल लामो समयसम्म रहँदा आर्थिक समृद्धिका विषय ओझेलमा परेको बताए । प्रशासनिक पुनःसंरचना भए पनि शासकीय शैली अझै पनि परिवर्तन नसकेको उनको भनाइ छ ।

“नेपालमा आर्थिक समृद्धिका लागि पर्यटन, पूर्वाधार, सूचना तथा सञ्चार क्षेत्रमा लगानीको ठूलो सम्भावना छ”, राष्ट्रपति पौडेलले भने, “हाम्रो छिमेकमा ठूलो बजार छ । नेपालमा लगानीको अपार सम्भावनाको उपयोग गर्नुहोस ।”

आर्थिक विकास लागि आवश्यक पूर्वाधार बनाउन बहुपक्षीय साझेदारीसहित विदेशमा रहेका नेपालीको ज्ञान, सीप, पुँजी र प्रविधि महत्वपूर्ण रहने राष्ट्रपति पौडेलको भनाइ छ । नेपालको अर्थतन्त्रमा ‘रेमिट्यान्स’ले महत्वपूर्ण भूमिका खेलेको र भुक्तानी सन्तुलन कायम गर्न सहयोगी भएको राष्ट्रपति पौडेलले उल्लेख गरे ।

“नेपालको आन्तरिक क्षमतामा विकास गर्न सकेमा मात्र विदेशमा नेपालीले सम्मान पाउने अवस्था रहन्छ”, उनले भने, “नेपाल समृद्ध नभएसम्म विदेशमा नेपाली शिर उचो हुन सक्दैन । विदेशमा नेपाल र नेपालीको विशिष्ट पहिचान स्थापित गर्नु सबैको कर्तव्य हो ।”

नेपालमा लगानी गर्न सहज बनाउन नीतिगत तथा कानुनी तर्जुमा गर्न सरकार तयार रहेको नेपाल प्रकृति र संस्कृतिको अनुपम रहेको उल्लेख गर्दै विदेशिएका नेपालीका आफ्ना सन्ततिको भाषा संस्कृति भुल्ने हुँदा नयाँ पुस्तालाई समय–समयमा नेपाल ल्याउन उनले आग्रह गरे ।

सो अवसरमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालको आर्थिक समृद्धिको लक्ष्य पूरा गर्नका लागि गैरआवासीय नेपालीलाई आग्रह गरे । “नेपालमा लगानीका लागि स्रोतको अभाव छ”, उनले भने, “नेपालमा लगानी गर्दा तपाइँहरुलाई सरकारले सहुलियत उपलब्ध गराउनेछ ।” उनले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक, सांस्कृतिक नागरिकता दिइने पनि उनको भनाइ छ ।

नेपाली वस्तु सेवाको विश्व बजारमा पहुँच स्थापित गर्न सरकार हातेमालो गर्न चाहेको उल्लेख गर्दै उनले ज्ञान हस्तान्तरण, युवा परिचालन र महिला सशक्तिकरणका लागि ‘डायस्पोरा’ सशक्त रुपमा अघि बढ्न आवश्यक रहेको बताए । विदेशमा रहने प्रत्येक नेपालीहरु नेपालका लागि अवैतनिक राजदूतका रूपमा रहने परराष्ट्रमन्त्री साउदले उल्लेख गरे ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपालीलाई नेपालका आयोजनामा लगानी गर्न आग्रह गरे । “नेपालमा लगानी गर्न पुराना र जटिल खालका नीतिगत र कानुनी संरचना छन् भने त्यसलाई परिमार्जन गरौँ । सम्भावनाको खोजी गरौँ र नेपालमै रोजगारी सिर्जना गर्ने वातावरण बनाऔँ”, उनले भने ।

संयुक्त राष्ट्रसङ्घका नेपालका लागि आवासीय संयोजक हाना सिङ्गर हाम्डीले नेपालको स्थानीय अर्थतन्त्र निर्माणमा रेमिट्यान्सको ठूलो भूमिका रहेको र नेपालको विकास आवश्यकता पूरा गर्न गैरआवासीय नेपालीलाई स्वदेशमा थप लगानी गर्न सुझाव दिए ।

एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपालको आर्थिक विकास र समृद्धिका लागि देशभित्रकै नागरिक जुटेमात्र विदेशबाट पनि सहयोग र समर्थन मिल्ने धारणा राखे । “मुलुक बनाउनका लागि सङ्कल्पको कमी छ । हामीसँग पर्याप्त क्षमता हुँदाहुँदै हामीले त्यसको प्रयोग नेपालमा गर्न चुकेका छौँ । जबसम्म देश बनाउन नागरिक आफैँ जुट्दैनन् तबसम्म मुलुक समृद्ध हुँदैन”, महतोले भने ।

कार्यकारी अध्यक्ष डा बद्री केसीले विदेशमा रहेका नेपालीका केही समस्या रहेको उल्लेख गर्दै सरकारको समन्वयमा त्यस्ता समस्या समाधान गर्न सकिने बताए । उनले श्रम सम्झौता नभएको मुलुक इराकमा ३० हजारको सङ्ख्यामा नेपाली नागरिक काम गरिरहेको, अवैध बाटोबाट कुवेतमा महिला कामदार गइरहेको उल्लेख गरे । विगतका वर्षमा नेपालमा लागानी गर्नका लागि कानुनी व्यवधान रहेकामा अहिले सहज हुँदै गएको उनको भनाइ थियो । अहिले सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीको कम्पनी स्थापना भएकामा यसले विदेशमा रहेका नेपालीबाट ठूलो लगानी भित्रिने अपेक्षा गरे ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसिसी) का अध्यक्ष रविना थापाले विदेशमा रहेका नेपालीलाई स्वदेशसँग जोड्न अघिकतम पहलको आवश्यकता रहेको बताए ।

एनआरएनएका अध्यक्ष कुल आचार्यले सरकारले गैरआवासीय नेपाली नागरिकता र सामाजिक सुरक्षा कोषको व्यवस्था गरेकामा धन्यवादज्ञापन गर्नुहुँदै मताधिकारको सुनिश्चितताका लागि पनि आग्रह गरे । संसारभर छरिएर रहेका नेपाली विकासका सच्चा साझेदार बन्न सक्ने औँल्याउनु हुँदै अध्यक्ष आचार्यले नेपालको माटो बेचेर विदेशमा सम्पत्ति नजोड्न पनि उनले आग्रह गरे ।