अहिलेकै अवस्थामा एमसीसी कार्यान्वयन हुन दिन्नौं : विप्लव

अहिलेकै अवस्थामा एमसीसी कार्यान्वयन हुन दिन्नौं : विप्लव



बुटवल । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिलेकै अवस्थामा एमसीसी परियोजना कार्यान्वयन हुन नदिने बताएका छन् । समाजवादी मोर्चाले बुटवलमा गरेको सभामा उनले नेपालको कानुन, सार्वभौमिकता मिचेर एमसीसीलाई अगाडि बढ्न नदिने बताए ।

उनले भने, ‘निस्वार्थ सहयोगको हामीले विरोध गरेको होइन तर शर्तसहितको अहिलेको अवस्थामा एमसीसी अगाडि बढ्न सक्दैन । यसमा प्रधानमन्त्रीको ध्यान जाओस् ।’

विश्वमा नै समाजवादविरुद्ध हमला भइरहेको भन्दै विप्लवले त्यसको विरोधमा एक्लै लड्न नसकिने भएकाले समाजवादी मोर्चा बनेको उनको दाबी छ ।

महासचिव विप्लवले देशलाई साम्राज्यवादको चंगुलबाट मुक्त गराउन मोर्चा बनेको जिकिर गर्दै आफूहरुमा सरकारमा जाने लोभ नभएको बताए । मोर्चाको लक्ष्य भ्रष्टाचारको विरुद्ध, सुशासनको पक्ष र नेपाली विशेषताको समाजवादतिर लैजाने भएको विप्लवले दाबी गरे ।