एनआरएनएमा राजनीतिक हस्तक्षेप हुनुहुँदैन : डा. हेमराज शर्मा

एनआरएनएमा राजनीतिक हस्तक्षेप हुनुहुँदैन : डा. हेमराज शर्मा



लण्डन । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिव डा. हेमराज शर्माले संघमा राजनीतिले हस्तक्षेप गर्न नहुने बताएका छन् ।

नेपाल पत्रकार महासंघ युरोपको बहस शृङ्खलाको ६२ औं भागमा एनआरएनए १० औं महाधिवेशन नीति र नेतृत्वको बहस कर्यक्रममा बोल्दै डा. शर्माले एनआरएनएका अधिकांश मुद्दाहरु राजनीतिसँग जोडिएको भए पनि एनआरएनएमा राजनीतिक हस्तक्षेप हुन नहुने बताएका हुन् ।

२००५ देखि एनआरएनएमा आवद्ध भएका डा. शर्मा एनआरएनए १० औं महाधिवेशनमा उपाध्यक्षका प्रत्यासी हुन् । राजनीतिप्रति आफूलाई बितृष्णा फैलिएको र अनुदार नरहेको बताउँदै उनले भने,‘राजनीतिको नाममा साना र तल्लो तहमा हस्तक्षेप गरेकोप्रति मेरो आपत्ति हो।’ उनले अगाडि भने, ‘हामी के सचेत छौं भने राजनीतिबिना यत्रो ठूलो संस्था चल्दैन र हाम्रो जतिपनि मुद्दाहरु छन्, त्यो राजनीतिसँगै जोडिएका छन्। तर पार्टी र राजनीतिको नाममा हुने हस्तक्षेपप्रति मेरो मात्र नभएर एनआरएनएप्रति चिन्ता गर्ने सबैको आपत्ति छ।’

एनसिसिको चुनावमा टिकट माग्न काठमाडौं जानुपर्ने र नेताहरुलाई आफ्नो पक्षमा पार्ने साथै निर्वाचनमा प्रत्यक्षरुपमा मन्त्रालय, हेडक्वाटर, सांसदहरुबाट फोन आउनेजस्तो हस्तक्षेपले एनआरएनएलाई कतै नपुर्‍याउने उनको भनाइ छ। मन्दिरको अगाडि जुत्ता छोडेझैं एनआरएनएमा आउँदा राजनीतिको टोपी र जुत्ता बाहिरै छोडेर आउनुपर्ने उनको बुझाइ छ।

नेताहरुको बाहिर देख्ने एनआरएनएमा आकर्षण हुन नहुने भन्दै उनले यसबाट नेताहरुलाई केही फाइदा नहुने बताए । ‘ठूलो र प्रोफेसनल मान्छे बाहिर छन्, त्यसैले यसमा आँखा लाउनु उपयुक्त नहोला’ उनले भने । पहिला जस्तो नेपालमा घुम्न गएको र धेरैभन्दा धेरै व्यक्तिलाई लिएर भोट हाल्न जाने परम्परालाई नयाँ विधानअनुसार यसपाली अन्त्य गरेको पनि उनले बताए ।

उनकाअनुसार ६५ प्रतिशत पुरानो एनसीसीआइसीमा कार्य गरेकाहरुलाई छुट्याएको छ । यस्तै, १० प्रतिशत नयाँ कार्यसमिति महिला, युवा एनआरएनएलाई योगदान गर्ने लाई पठाउने व्यवस्था र २५ प्रतिशत महाधिवेशनबाट निर्वाचित भएर आउने व्यवस्था गरिएको छ । जसबाट यसपटकको निर्वाचन व्यवस्थित हुने उनले दाबी गरे । गत वर्षको जस्तो निर्वाचनमा भद्रगोल नहोस् भनेर अनलाइन भोटिंङको व्यवस्था गरिएको भन्दै उनले यस्तो गर्दा निर्वाचनमा राजनीति कम हुने बताए ।