अफगानिस्तानबाट अमेरिकी सैनिक सबै फिर्ता

अफगानिस्तानबाट अमेरिकी सैनिक सबै फिर्ता



झण्डै २० वर्ष लामो सैनिक हस्तक्षेपपछि अमेरिकाले पूर्णरुपमा अफगानिस्तान छाडेको छ । अफगानिस्तानका लागि अमेरिकी राजदूत रस विल्सन र अमेरिकी कमाण्डर जनरल क्रिश डोनाह्यु सबै अमेरिकी सेना र नागरिकलाई फिर्ता गरिसकेपछि गएरातिको अन्तिम उद्धार उडानबाट स्वदेश फर्केका छन् ।

तालिबानले विदेशी सेना फिर्ताको लागि ३१ अगष्टको समयसीमा निर्धारण गरेको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेनले भने तोकिएके समयभन्दा केही थप समय लाग्न सक्ने बताएका थिए । राजधानी काबुलको हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकाको अन्तिम उद्धार विमान उडेलगत्तै तालिबानहरूले आतशबाजी गर्दै र तोप पड्काउँदै खुशीयाली मनाएका थिए ।

सम्पूर्ण अमेरिकी सेना फिर्ता भएसँगै अब काबुल विमानस्थल तालिबानले आफ्नो हातमा लिएको छ । तालिबानले कागजात भएका व्यक्ति अझै पनि देशबाहिर जान पाउने बताएको छ । काबुलबाट विमान उडेसँगै पेन्टागनमा पत्रकार सम्मेलन गरेर अमेरिकी सेनाको केन्द्रीय कमाण्डका प्रमुख जनरल फ्र्याङ्क मकेन्जीले २००१ सेप्टेम्बर ११ बाट अफगानिस्तानमा शुरु भएको युद्ध पूर्णरुपमा बन्द भएको घोषणा गरेका छन् ।