परराष्ट्रको पत्रपछि एनआरएनए विश्व सम्मेलन अनिश्चित

परराष्ट्रको पत्रपछि एनआरएनए विश्व सम्मेलन अनिश्चित



काठमाडौं । परराष्ट्र मन्त्रालयले भदौ २५ मा निर्वाचन प्रकृया तत्काल रोक्न पत्राचार गरेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) विश्व सम्मेलन अन्योलमा परेको छ । बेदप्रसाद खरेल, एनआरएनए सल्लाहकार अमेरिका, नवराज ओली आईसीसी मानर्थ सदस्य कतार र जानकी गुरुङ आइसीसी सचिवलगायत २५ जनाले प्रतिनिधि छनोटमा धाँधली भएको उजुरी परराष्ट्र मन्त्रालयमा दिएका थिए । त्यही उजुरीका आधारमा मन्त्रालयले एनआरएनएलाई निर्वाचन प्रकृया रोक्न पत्राचार गरेको थियो ।

परराष्ट्र मन्त्रालयले आगामी कात्तिक ३ गतेमा हुने निर्वाचनसम्बन्धी कुनै पनि प्रक्रिया अघि नबढाउन भनेको छ । परराष्ट्र मन्त्रालयका सहसचिव भरतकुमार रेग्मीले भदौ २५ गते एनआरएनएलाई पत्र लेखेर निर्वाचन रोक्न निर्देशन दिएका हुन् । यद्यपि संघका अध्यक्ष कुमार पन्त र महासचिव हेमराज शर्मा नयाँ नेतृत्व छनोट प्रकृया निर्धारित मितिमै हुने बताइरहेका छन् । संघको निर्वाचन प्रकृयामा सरकारले अवरोध गरे अदालत जानेसमेत बताएका छन् ।

नयाँ नेतृत्व चयन गरेको तीन दिनपछि कात्तिक ६ देखि ८ गतेसम्म विश्व सम्मेलन गर्ने गैरआवासीय नेपाली संघको कार्यतालिका छ । एनआरएनए परराष्ट्र मन्त्रालयमा दर्ता भएको विदेशमा रहेका नेपालीहरुको साझा संस्था हो । ८० बढी देशमा यसका शाखाहरु छन् । परराष्ट्र मन्त्रालयसँग समन्वय र सहकार्य गरेर एनआरएनएले आफ्नो गतिविधि गर्दै आएको छ ।

उजुरीहरुका सम्बन्धमा परराष्ट्र, कानून र सञ्चार मन्त्रालयका प्रतिनिधिहरु रहेको अनुगमन समिति बनेको र सो समितिले आफ्नो प्रतिवेदन पेश नगरुञ्जेल निर्वाचनसम्बन्धी बाँकी प्रक्रियाहरु स्थगन गर्न मन्त्रालयले भनेको छ ।

परराष्ट्र मन्त्रालयले पठाएको पत्रको व्यहोरा हेर्दा अब कानून, सञ्चार र परराष्ट्र मन्त्रालयका कर्मचारी सम्मिलित टोलीले युरोपका विभिन्न देश र जापानको भ्रमण गरेर स्थलगत अनुगमन गरेपछि मात्रै एनआरएनको निर्वाचन प्रक्रिया अघि बढ्न सक्ने देखिएको छ ।