फोटो र पासपोर्ट अपलोड गर्न एनआरएनए महाधिवेशन प्रतिनिधिलाई निर्वाचन समितिको आग्रह

फोटो र पासपोर्ट अपलोड गर्न एनआरएनए महाधिवेशन प्रतिनिधिलाई निर्वाचन समितिको आग्रह



काठमाडौं । गैरआवासीय नेपाली संघको १०औं महाधिवेशन प्रतिनिधिलाई तस्बिर र पासपोर्ट अपलोड गर्न निर्वाचन समितिले आग्रह गरेको छ । निर्वाचन समितिले हिजो शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार निर्वाचन समिति गत जुलाईदेखि नै तयारीमा जुटेको छ । जुलाईमा भएका राष्ट्रिय अधिवेशन र निर्वाचनहरुलाई नियाल्दै आएको निर्वाचन समितिले आगामी २० अक्टोवरमा अन्तर्राष्ट्रिय समन्वय परिषदको अनलाइन निर्वाचन गर्ने प्रस्ताव गरी तयारी भइरहेको छ ।

निर्वाचनका लागि विभिन्न देशबाट केन्द्रिय प्रतिनिधिको नामावली सचिवालयमा आइसकेको छ । हाल उपलब्ध ती नामावलीको अन्तिम प्रमाणीकरणको काम निर्वाचन समितिको प्रत्यक्ष निगरानीमा भइरहेको उल्लेख छ ।

विज्ञप्तिमा ‘गैरआवासीय नेपाली संघको इतिहासमै पहिलो पटक निर्वाचन अनलाइन प्रणालीमार्फत गर्न लागिएको (इ–भोटिङ्ग) हुंदा स्वतन्त्रता र निष्पक्षताको प्रत्याभूत हुने गरी नेपालीहरुको संलग्नता नरहेको विदेशी निर्वाचन भेन्डरको छनौट भैसकेको छ । प्राविधिक लगायत अन्य विविध पूर्व तयारी भइसकेको छ । अनलाइन मतदानका लागि संस्थाका महाधिवेशन प्रतिनिधिहरु (मतदाता) ले मतदानका समयमा आफ्नो अनुहार प्रमाणीकरण गर्नु पर्ने भएकाले अहिले नै अनुहार प्रष्ट देखिने फोटो (सेल्फी) अनिवार्य पठाउनु पर्ने हुन्छ ।

सबै मतदाताहरुलाई संघको एमआइएस सिस्टममा लगइन गरेर सेल्फी फोटो अपलोड गर्न अनुरोध गरिएको छ । अहिले सोही अनुसार फोटो संकलनको काम जारी छ । निर्वाचनका बेला मतदाताले आफ्नो डिभाइसमा सेल्फी फोटो प्रमाणीकरण गरेपछि मात्रै भोट हाल्न पाइने प्रावधान भएकाले समयमै सेल्फी फोटो अपलोड नगर्दा मतदानबाट बन्चित हुने अवस्था आउन सक्छ । यस तर्फ सबै मतदातालाई सजग रहन निर्वाचन समिति अनुरोध गर्दछ’ उल्लेख छ ।