एनआरएनए अध्यक्षमा कुल आचार्यलाई जिताउन कांग्रेस नेताहरुलाई समन्वयको जिम्मेवारी

एनआरएनए अध्यक्षमा कुल आचार्यलाई जिताउन कांग्रेस नेताहरुलाई समन्वयको जिम्मेवारी



काठमाडौं । नेपाली कांग्रेसले गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुल आचार्यलाई समर्थन गरेको छ । एनआरएनएको दशौं विश्व सम्मेलनमा लोकतन्त्रवादी समूहलाई विजयी गराउन सहयोग र समन्वय गर्नका लागि पार्टीका तर्फबाट गठित समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा बुधबार बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकले नेपाली कांग्रेससँग आवद्ध विदेश स्थित सबै नेपाली जनसम्पर्क समितिहरुले कुल आचार्यको नेतृत्वमा रहेको लोकतन्त्रवादी समूहलाई विजयी गराउन आ–आफ्नो देशभित्र रहेका साथीहरुसँग आवश्यक समन्वय र सहयोग गर्नका लागि अनुरोध गरेको छ ।

साथै युरोप, एशिया, अमेरिका, अफ्रिका, मध्यपर्व र ओशियाना क्षेत्रका देशहरुमा पार्टीका तर्फबाट आवश्यक समन्वय गर्नका लागि पार्टीका केन्द्रीय पदाधिकारी एवं सदस्यहरुलाई जिम्मेवारी तोकिदिएको छ। युरोप क्षेत्रमा सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य गगन थापा, एशिया क्षेत्रमा केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीलाई तोकिएको छ ।

त्यसैगरी अमेरिका क्षेत्र केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल, अफ्रिका, मध्यपूर्व क्षेत्र र नेपाली जनसम्पर्क समिति केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टराई र केन्द्रीय सदस्य एवं प्रवक्ता विश्वप्रकाश शर्मा र ओसियाना क्षेत्रकालागि केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेलाई जिम्मेवारी दिएको छ ।

एनआरएनएको दशौं विश्व सम्मेलन आउँदो कात्तिकको ३ देखि हुने तय भएको छ ।