दुई वर्षपछि नेपाल–भारत सीमा सुरक्षा बैठक बस्दै

दुई वर्षपछि नेपाल–भारत सीमा सुरक्षा बैठक बस्दै



काठमाडौं । नेपाल–भारत सीमा सुरक्षा बैठक आज बस्दैछ । भारतको राजधानी नयाँदिल्लीमा बैठक आज बस्न लागेको हो । नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर भारतले आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेपछि दुवै देशबीच विवाद उत्पन्न भएको थियो । विवादका कारण रोकिएको दुई देशबीचको बैठक दुई वर्षपछि बस्न लागेको हो ।

बैठकमा सीमा सुरक्षा र गस्ती, दुई देशबीच जोडिएका नाकाको प्रयोग, अन्तरदेशीय अपराध नियन्त्रण तथा रोकथामलगायतका विषयमा छलफल हुने गृह मन्त्रालयले जनाएको छ ।

बैठकमा कालापानी र सुस्ताका विषयमा भने छलफल नहुने भएको छ । बैठकमा भाग लिन सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल नेतृत्वको टोली सोमबार भारतको नयाँदिल्ली पुगेको छ । नेपालका तर्फबाट आईजीपी खनाल, सशस्त्र प्रहरी कार्य तथा सीमा विभाग प्रमुख पुष्पराज केसी, प्रशासन विभागका डीआईजी नारायणदत्त पौडेललगायत सहभागी भएका छन ।

भारतका तर्फबाट भारतीय सशस्त्र सीमा बल एसएसबीका महानिर्देशक कुमार राजेश चन्द्रासहितको टोली सहभागी हुँदैछ । दुई देशले आलोपालो बैठक आयोजना गर्ने भनिए पनि यसबीचमा नियमित बैठक हुन सकेको थिएन । यसअघि चौथो बैठक २०७६ मंसिर ४ र ५ गते पोखरामा बसेको थियो ।

सीमा सुरक्षा बैठक पहिलो पटक २०६९ सालमा भारतमा बसेको थियो । दोस्रो बैठक २०७२ सालमा नेपालमा र तेस्रो बैठक २०७३ सालमा नयाँदिल्लीमा बसेको थियो । भारतले २०७६ कात्तिकमा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो ।