३३ किलो सुन प्रकरण: ‘गोरे’ सहित ६ जनालाई जन्मकैद, ४८ जनालाई सफाई

३३ किलो सुन प्रकरण: ‘गोरे’ सहित ६ जनालाई जन्मकैद, ४८ जनालाई सफाई



काठमाडौं । ३३ किलो सुन प्रकरणको फैसला आएको छ । जिल्ला अदालत मोरङले मंगलबार चार वर्षपछि ३३ किलो सुन प्रकरणको फैसला सुनाएको हो ।

अदालतले ७७ जना प्रतिवादीमध्ये ८ जनलाई मात्र सजाय दिएको छ । सुन प्रकरणका मुख्य योजनाकार भनिएका चुडामणि उप्रेती ‘गोरे’, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले नरेन्द्र कार्की र भोजराज भण्डारी गरि ६ जनालाई जन्म कैद सजाय सुनाइएको छ । त्यस्तै बाँकी दुई जनलाई भने तीन वर्ष र ६ महिना कैद सजाय सुनाइएको छ ।

त्यस्तै पूर्वडिआइजी गोविन्दप्रसाद निरौलासहित ४८ जनाले सफाई पाएका छन् । उनीसहित सो प्रकरणमा मुछिएका सबै प्रहरीले सफाइ पाएका हुन् । जिल्ला अदालत, मोरङले मंगलबार हत्या ७७ जना प्रतिवादी मध्ये पक्राउ परेका ८ जनालाई मात्रै दोषी ठहर गरेको छ । यो प्रकरणमा फरार रहेका २१ जनाको मुद्दा चाहिँ मुल्तबीमा राखिएको जिल्ला अदालत मोरङ्ले जनाएको छ ।

सफाइ पाउनेहरुमा तत्कालीन अपराध महाशाखा प्रमुख पूर्वएआईजी निरौला, एसएसपी दिवेश लोहनी (हाल डीआईजी), श्यामबहादुर खत्री र प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल छन् । त्यस्तै, प्रहरी नायब उपरीक्षक (डीएसपी) सञ्जय राउत, प्रजित केसी, प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेल, प्रहरी हवल्दार अमरबहादुर थापा मगर र प्रहरी जवान विष्णु खड्काले पनि सफाइ पाएका छन् ।

२०७४ माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ केजी सुन बाहिरिएको थियो । विमानस्थलबाट सहजै बाहिरिएको सुन बानेश्वर र एयरपोर्टको बीच बाटोबाट नै एकाएक गायब भएको थियो ।

यही विषयमा सुन तस्करीबीच विवाद भएपछि २०७४ फागुन १८ गते ३५ वर्षीय सुन व्यापारी सनम शाक्यको हत्या भयो र तस्करीका एकाएक घटनाका प्लटहरू बाहिरिएका थिए ।

२०७५ वैशाख १९ गते सात जना प्रहरी सहित ६३ जना विरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको थियो । सङ्गठित अपराध, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानमा मुद्दा दर्ता भएको थियो । त्यसबाहेक अन्य लाई लगाऊ मुद्दा लगाइएको थियो ।

तर अझैसम्म ३३ किलो सुन कहाँ गयो भन्ने पत्ता लागेको छैन । सुन प्रकरणका मुख्य अभियुक्त चुडमाणि उप्रेती ‘गोरे’ लाई २०७५ जेठमा पक्राउ पछि सार्वजनिक गरिएको थियो । उनी अदालतको आदेशमा केन्द्रीय कारागार सुन्धारामा छन् ।

यही घटनामा प्रहरीदेखि व्यापारीसम्म मुछिए पनि यस प्रकरणमा मुछिएका ४८ जनाले सफाइ पाएका छन् ।