बुटवलमा अनिश्चितकालिन कर्फ्यु

बुटवलमा अनिश्चितकालिन कर्फ्यु



बुटवल । बुटवलमा अनिश्चितकालिन कर्फ्यु लगाइएको छ । रुपन्देहीको मोतिपूर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूह र प्रहरीबीच झडप भएपछि अनिश्चितकालिन कफ्र्यु लगाइएको हो । स्थिति नियन्त्रण बाहिर जान सक्ने भन्दै स्थानीय प्रशासनले आइतबार ४ बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका कर्फ्यु लगाएको हो ।

पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका–१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने गरी कर्फ्यु जारी गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको सूचनामा उल्लेख छ ।

औद्योगिक क्षेत्रको जग्गामा अस्थायी रुपमा बसोबास गर्ने सुकुम्बासी समूह र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाउँदा केही घाइते भएका छन् ।

बुटवल औद्योगिक क्षेत्रमा जग्गा कब्जा गरेर बस्नेहरुलाई हटाउन खोजेपछि झडप भएको थियो । बुटवल वडा नं १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेक्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतित्रमण भएको थियो ।

१ सय बिगाहा जग्गा सुकुम्वासीको नाममा कब्जा गरेपछि सो क्षेत्रमा सशस्त्र प्रहरीलाई स्थायी रुपमा राख्ने तयारी भइरहेको थियो । प्रशासनले तीन दिनदेखि रातिमा टहराहरु भत्काइदिदैं आएको थियो । तर, त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले आज बल प्रयोग गरेको थियाे ।