टीका लगाउने शुभ साइत बिहान १० बजेर २ मिनेटमा

टीका लगाउने शुभ साइत बिहान १० बजेर २ मिनेटमा



काठमाडौं, २९ असोज । आज बडादशैंको प्रमुख दिन विजया दशमी । मान्यजनको हातबाट दुर्गा भवानीको प्रसाद स्वरुप मान्यजनबाट टीका जमरा लगाइन्छ । देवी विसर्जन गरेपछि घटस्थापना गरेको घडाको जलले अभिषेक गर्ने र देवीको प्रसादलाई अन्य देवता तथा आआफ्ना कुलदेवतालाई चढाई टीका लगाउने र आफन्त, गुरु तथा मान्यजनकोमा टीका थाप्न जाने प्रचलन रहेको छ ।

बिहान ८ः१९ बजे देवी विसर्जन गरेपछिको पूरै समय टीकाको लागि शुभ रहेका नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । तर, टीका लगाउन साइत नै कुर्नेहरूको लागि बिहानको १०ः०२ बजे उत्तम साइत रहेको छ ।

आयु द्रोण सुते श्रीयं दशरथे शत्रुक्षयं राघवे
ऐश्वर्य नहुषे गतिश्च पवने मानं च दुर्योधने ।
सौर्यं सान्तनवे वलं हलधरे सत्यंच कुन्तीसुत
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तीश्च नारायणे ।।

टीक लागाइदिँदा यो मन्त्र उच्चारण गरिन्छ । जसमा गुरु द्रोणाचार्यको पुत्र अश्वत्थामाको जस्तै आयु होस्, दशरथ राजाको जत्तिकै सम्पत्ती होस्, शत्रुको नाश गर्न भगवान राम झैं पराक्रमी, नहुष राजाको जस्तै ऐश्वर्य, हावाको जस्तै गति र दुर्योधनको जस्तै मान–सम्मान होस् भनिएको छ । यस्तै सूर्यपुत्र कर्ण जस्तै दानी, शक्तिमा बलराम, सत्यमा युधिष्ठिर, ज्ञानमा विदुर र किर्तिमा भगवान नारायणको जस्तो होस् भनी उल्लेख गरिएको छ ।

माथि उल्लेख गरिएका आशिर्वचनमा सबै पात्र पुरुष भएकाले महिलालाई टीका लगाउँदा देवी स्वरूपको आशिर्वाद दिइन्छ ।

जयन्ती मंगलाकाली भद्रकाली कपालिनी
दुर्गा क्षमा शिवधात्री स्वाहा स्वधा नमोस्तुते ।

आजको दिन अर्थात् विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनको हातबाट टीका जमरा लगाइन्छ ।