मोनाको अध्यक्षमा अमर छन्त्याल निर्वाचित

मोनाको अध्यक्षमा अमर छन्त्याल निर्वाचित



म्याग्दी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) को चौथो महाधिवेशनबाट अन्तर्राष्ट्रिय कार्यकारी समितिको अध्यक्षमा अमर छन्त्याल निर्वाचित भएका छन् । म्याग्दीको बेनीमा सम्पन्न महाधिवेशनले छन्त्यालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

मोना अन्तर्राष्ट्रिय समितिकाे उपाध्यक्षमा रहेर काम गरिसकेका नवनिर्वाचित अध्यक्ष छन्त्याल म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा जन्मघर भई विगत दुई दशकभन्दा बढी समयदेखि अमेरिकाको बाल्टिमोरमा बस्दै आएका छन् । उनी बाल्टिमोरमा सामाजिक गतिविधिमा निकै सक्रिय छन् । उनले व्यवसायिक रुपमा रेष्टुरेन्ट व्यवसाय गर्दैआएका छन् । छन्त्याल म्याग्दी समाज अमेरिकाका पुर्व अध्यक्ष, एन आर एनए अमेरिकाको पूर्व बोर्ड अफ डाइरेक्टर हुन् ।

निर्वाचन समितिका संयोजक सुवास कुमार श्रेष्ठकाअनुसार मोनामा वरिष्ठ उपाध्यक्ष ददिवल खड्का (जापान), उपाध्यक्षहरू सूर्जे भट्टचन (पोर्चुगल),जंगबहादुर पुन (युके), नन्द गर्वुजा (युएई), महिला उपाध्यक्ष पूर्णिमा पाईजा (हङकङ),महासचिव हरि रामजाली (अष्ट्रेलिया),सचिव सुनेश केसी (दक्षिण कोरिया), विष्णु बरूवाल सुवोध (साउदी) निर्वाचित भएका छन् । यसैगरी प्रवक्तामा हिक्मत श्रेष्ठ (अष्ट्रेलिया), कोषाध्यक्षमा महेन्द्र खड्का (जापान) निर्वाचित भएका छन् ।