अमेरिकाको सत्तारुढ दलको केन्द्रीय सदस्यमा अर्जुन हमाल निर्वाचित

अमेरिकाको सत्तारुढ दलको केन्द्रीय सदस्यमा अर्जुन हमाल निर्वाचित



मेरिल्याण्ड । अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन् । मेरिल्याण्ड राज्यको डेमोक्रयाटिक पार्टीको केन्द्रीय सदस्य बनेका हमाल सम्भवतः नेपाली मूलका दोश्रो युवा हुन्। यसअघि डेलिगेट ह्यारी भण्डारी सोही पदमा पुगिसकेका छन् ।

डेमोक्रयाट पार्टीको डिष्ट्रिक ८ मा एमिली कुकले पद त्याग गर्ने घोषणा गरेपछि खाली भएको पदमा हमाल निर्वाचित भएका हुन् । अमेरिकामा राजनीतिक दलहरुले कोही पदाधिकारीले आकस्मिक रुपमा पदबाट राजीनामा दिएमा वा कुनै कारणवश पद रिक्त भएमा निर्वाचित केन्द्रीय सदस्यहरुले रिक्त पदमा पदपूर्ति गर्न निवेदन आव्हान गर्ने गर्छन् । सोही प्रक्रिया र मापदण्डका आधारमा हमाल केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

मेरिल्याण्ड राज्यमा एएपिआईको केन्द्रीय सदस्यको रुपमा समेत काम गरिसकेका हमालले डेमोक्रयाट पार्टीको केन्द्रीय सदस्यको रुपमा शपथ लिइसकेका छन् ।
मेरिल्याण्ड राज्यमा विगत १६ वर्ष देखि बस्दै आएका हमाल विभिन्न सामाजिक गतिविधिमा क्रियाशिल रहदै आएका छन् । हमालले अब नेपाली मूलका पहिलो निर्वाचित डेलिगेट भण्डारीसंगै पार्टी केन्द्रिय समितिमा रहेर काम गर्नेछन् ।

ग्लोब नेपाल डटकमकातर्फबाट हमाललाई हार्दिक बधाई ज्ञापन गर्दे आगामी दिनमा थप उपलब्धिका लागि समेत शुभकामना व्यक्त गर्दछाैं ।