एनआरएनएको भर्चुअल विश्व भेला, परराष्ट्रमन्त्री अतिथि

एनआरएनएको भर्चुअल विश्व भेला, परराष्ट्रमन्त्री अतिथि



वासिंगटन डिसी । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय सम्मेलन ६ महिनाका लागि स्थगित भएपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको संयोजनमा छुट्टै विश्व भेलाको आयोजना गरिएको छ। यही अक्टोबर २४ तारिक आइतवार भर्चुअलरुपमा विश्व भेला हुने बताइएको छ।

अन्तर्राष्ट्रिय सम्मेलन स्थगित भएको, अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी) को निर्वाचन नभएको र विधानत आईसीसीको कार्यकालसमेत समाप्त भइसकेको अवस्थामा एनआरएनएलाई कसरी अगाडि बढाउने भन्ने मुल विषयमा केन्द्रीत रही यो सम्मेलनको आयोजना गरिएको आयोजक समितिका संयोजक बुद्धिसागर सुवेदीले बताए । भेलामा नेपाल सरकारका परराष्ट्र मन्त्री डा.नारायण खड्कासहितका अतिथिहरुलाई निम्ता गरिएको पनि उनले बताए ।

संसारभर भएका निर्वाचित ६२ वटा एनसीसीहरुलाई सहभागी गराएर विश्व भेलाको आयोजना गरिएको उनको दावी छ। यसका लागि सुबेदीको संयोजकत्वमा ९ सदस्यीय स्टेयरिङ कमिटी गठन गरिएको छ।

जसमा क्यनडाका अध्यक्ष दीपक गौतम, अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ्ग, बेलायतका अध्यक्ष प्रेम गाहा मगर, स्पेनका अध्यक्ष शालिग्राम डुम्रे, अष्ट्रियाका अध्यक्ष भवानी तिवारी, मध्यपूर्वको कतारका अध्यक्ष महम्मद मुस्तादा, अफ्रिकाबाट दक्षिण अफ्रिकाका अध्यक्ष डा.पुष्प भट्टराई र एशियाबाट दक्षिण कोरियाका अध्यक्ष दीपक पुन सदस्य छन्।

आईसीसीका अध्यक्ष कुमार पन्त इमेलमार्फत र महासचिव हेमराज शर्माले पत्रमार्फत् नै यस्तो कुनै भेला नगर्न आह्वान गरेका छन्। तर, उनीहरुको आह्वानलाई वेवास्ता गर्दै संस्थाभित्रको अन्यौलबाट संस्थालाई निकास दिन भेला आयोजना गरिएको आयोजक पक्षको दावी छ।

अक्टोबर २३‐२५ मा हुने भनिएको विश्वसम्मेलन स्थगित भएपछि संस्था अन्यौलमा परेको छ, संयोजक सुबेदीले भने, ‘एनसीसी र त्यसका प्रेसिडेन्टहरु मुख्य सरोकारवाला भएकाले साझा चासोका विषयमा छलफल गर्न यो भेला आवश्यक भएको हो, भेला रोकिंँदैन।’

आईसीसीका अध्यक्षले आगामी नोभेम्बर ३० भित्र जसरी पनि निर्वाचन गराउने भनेको र उनको सो प्रतिबद्धतालाई थप मद्धत पुर्याउन नोभेम्बर ३० भित्र आईसीसीको निर्वाचन गर्न दवाव दिनका लागि विश्व भेला आयोजना गर्नु परेको संयोजक सुबेदीको दावी छ।

भेलामा एनआरएनए आईसीसीलाई नेपाल सरकार परराष्ट्र मन्त्रालयले दिएको निर्देशन र त्यसमा पनि प्रतिनिधि छनौटको ६५ प्रतिशत प्रावधानबारे बृहत छलफल हुने तथा एउटै विषयमा देश नै पिच्छे फरक फरक निर्देशन पत्र पठाउने हालको आईसीसी नेतृत्वको कामबारे पनि छलफल गर्ने एजेण्डा तय गरिएको संयोजनक सुबेदीले बताए।