आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ए खुवाइँदै

आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ए खुवाइँदै



काठमाडौं । देशभ्का बालबालिकालाई आज र भोलि भिटामिन ए खुवाइँने भएको छ । ६ महिनादेखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई दुई दिन भिटामिन ए खुवाउन लागिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५९ महिना उमेरसमूहका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाउन लागेको हो ।

सधैं कात्तिक ३ र ४ गते भिटामिन ए खुवाउँदै आएकामा दशैं परेकाले आज र भोलि खुवाउन लागिएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख केदार पराजुलीले भिटामिन ए ६ महिनादेखि ११ महिनासम्मका बालबालिकालाई एक लाख युनिट र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई दुई लाख युनिट खुवाइने जानकारी दिए ।

त्यही अवसरमा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधिसमेत खुवाइनेछ । २०० मिलिग्राम एकदेखि दुई वर्षका बालबालिकालाई र ४०० मिलिग्राम दुईदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने छ ।

मन्त्रालयले भिटामिन ए खुवाउन लैजाँदा अभिभावकलाई कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ ।