प्रधानन्यायाधीशको राजीनामा माग्यो नेपाल बारले

प्रधानन्यायाधीशको राजीनामा माग्यो नेपाल बारले



काठमाडौं । कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ । न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीशले निकास दिनुपर्ने भन्दै सोमबार बसेको बारको आकस्मिक बैठकले प्रधानन्याधीशको राजीनामा मागेको हो ।

बैठकले प्रधानन्यायाधीशबबाट निकास हुनुपर्ने निर्णय गरेको बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए । ‘यसको औपचारिक निर्णय र सार्वजनिक भोलि हुन्छ । भोलि सबै सल्लाहकारहरुसँग बृहत छलफल गरेपछि निर्णय सार्वजनिक गर्छौं’, उनले भने ।

बारको आकस्मिक बैठकबाट भएको यो निर्णय मंगलबारको सल्लाहकार परिषदको बैठकपछि थप परिपक्व हुने उनले बताए । न्यायपालिकामा देखिएका विकृति, विसंगति अन्त्य गर्न नसकेको भन्दै पूर्वन्यायाधीश समाजले प्रधानन्यायाधीशले निकास दिनुपर्ने नभए प्रतिनिधिसभाले आफ्नो संवैधानिक दायित्व पूरा गर्नुपर्ने बताएको थियो ।

न्यायपालिका शुद्धिकरण अभियानमा रहेका वरिष्ठ कानुन व्यवसायीहरुले पनि प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने बताएका थिए ।