६ महिनाभित्र कोरोना खोप लगाइसक्ने लक्ष्यमा केन्द्रित हुन प्रधानमन्त्री देउवाको निर्देशन

६ महिनाभित्र कोरोना खोप लगाइसक्ने लक्ष्यमा केन्द्रित हुन प्रधानमन्त्री देउवाको निर्देशन



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी ६ महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने सरकारी लक्ष्यमा केन्द्रित हुन निर्देशन दिएका छन् । आज (बिहीबार) बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले खोप लगाउन योग्य सबै नागरिकलाई खोप दिने प्रबन्ध गर्न निर्देशन दिएको प्रधानमन्त्री कार्यालयका सचिव महेश्वर न्यौपानेले जानकारी दिए ।

‘आगामी ६ महिनाभित्र सरकारले सबै नागरिकलाई खोप दिने लक्ष्य राखेको छ । खोपमा कुनै कमी नहोस् । दाताहरुसँग त्यहीअनुसार मागौँ, आग्रह गरौँ । बरु आफै खरिद गरौँ । तर, सबै नागरिकलाई सकेसम्म निःशुल्क लगाउने व्यवस्था गरौँ,’ बैठकमा देउवाले निर्देशन गरेका छन् ।

प्रधानमन्त्री देउवाले समन्वय केन्द्र, स्वास्थ्य मन्त्रालय र सम्बन्धित सबै निकायलाई खोपको सुनिश्चितताका लागि निर्देशन गरेका हुन् । तत्कालीन केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) गठन गरेको थियो । तर, सो अध्यादेश निष्क्रिय भएपछि देउवा सरकारले गठन आदेशमार्फत प्रधानमन्त्रीको संयोजकत्वमा कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र गठन गरेको थियो ।

केन्द्रको पहिलो बैठकले केन्द्रको जनशक्ति व्यवस्थापन र सङ्गठन संरचनासम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ ।बैठकमा हाल कोरोना संक्रमणको अवस्था, चाडबाडको बेलामा संक्रमणमा भएको घटबढ, नेपाल र अन्य देशहरुमा संक्रमणको अवस्था, जोखिमहरु र खोप आयात तथा खोप व्यवस्थापनका विषयमा छलफल भएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कुल जनसंख्याको ३४ प्रतिशतले कोभिडविरुद्ध खोपको पहिलो मात्रा पाएका छन् भने २२ प्रतिशतले दुवै मात्रा खोप लगाएका छन् । प्रधानमन्त्री देउवाले प्रधानमन्त्री भएपछि प्रतिनिधिसभा बैठकमा पहिलो सम्बोधनमै आगामी चैतभित्र खोप लगाउन योग्य सबै नेपालीलाई निःशुल्क खोप लगाउने व्यवस्था गर्ने घोषणा गरेका थिए ।