बारले प्रधानन्यायाधीश जबराविरुद्ध थप आन्दोलनको घोषणा गर्दै

बारले प्रधानन्यायाधीश जबराविरुद्ध थप आन्दोलनको घोषणा गर्दै



काठमाडौँ । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै थप आन्दोलन घोषणाको तयारी गरेको छ । कार्यसमितिको बैठक बसेर आज (शुक्रबार) जबराविरुद्ध थप कार्यक्रम घोषणा गर्ने बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए ।

नेपाल बारले गत मंगलबार चार दिनदेखि बसेको कार्यसमिति र सल्लाहकार समितिको संयुक्त बैठक टुङ्ग्याउँदै प्रधानन्यायाधीशलाई राजीनामा दिन आह्वान गरेको थियो । जबराले राजीनामा नदिए देशैभरका ९० वटा बार इकाईमार्फत आन्दोलन घोषणा गर्ने निर्णय गरेको थियो ।

नेपाल बारले त्यस्तो चेतावनी दिँदा प्रधानन्यायाधीश जबरालाई राजीनामा दिनुपर्ने समय भने उल्लेख गरेको थिएन । ‘उहाँले आज–भोलिसम्ममा राजीनामा दिनुहोला भन्ने हाम्रो अपेक्षा थियो तर त्यसो गर्नुभएन । आफ्नै अडानमा रहनुभयो । अब बैठक बसेर हामीले थप आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेका छौँ,’ अध्यक्ष श्रेष्ठले भने ।