प्रधानन्यायाधीशलाई राजीनामा दिन ५ दिने अल्टिमेटम

प्रधानन्यायाधीशलाई राजीनामा दिन ५ दिने अल्टिमेटम



काठमाडौं । नेपाल बार एशोसिएसनले राजीनामा दिन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई ५ दिने अल्टिमेटम दिएको छ । यस्तै बारले दबावमुलक आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ ।

शुक्रबार बसेको बार कार्यसमितिको बैठकले आइतबारदेखि बुधबारसम्म कालो पट्टी बाँधेर सर्वोच्च अदालतमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको हो ।

उपाध्यक्ष रक्षा बस्यालका अनुसार उक्त आन्दोलनमा सक्रिय सहभागिता जनाउन उपत्यकाका कानुन व्यवसायीहरुलाई आह्वान गरिएको हो ।

‘यो आन्दोलनको अवधिभरमा पनि राजीनामा नआए विरोधका थप कार्यक्रम घोषणा गर्नेछौं’, उपाध्यक्ष बस्यालले भनिन् । बारले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको, न्यायपालिकाको गरिमा कायम गर्न नसकेकाले राजीनामा मागिएको भन्दै सर्वोच्चको इजलासमा बसेर आदेश वा फैसला नगर्न माग पनि गरेको छ ।