कुल आचार्यजस्तो व्यक्ति एनआरएनएलाई आवश्यक छ : प्रधानमन्त्री देउवा

कुल आचार्यजस्तो व्यक्ति एनआरएनएलाई आवश्यक छ : प्रधानमन्त्री देउवा



लन्डन । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा भाग लिन बेलायत आइपुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले कुल आचार्यजस्तो व्यक्ति गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई आवश्यक भएको बताएका छन । गैरआवासीय नेपाली संघ युकेद्वारा शनिबार प्रधानमन्त्री  देउवाकाे सम्मानमा आयोजित समारोहलाई सम्बोधन गर्दै भने आचार्यले हालसम्म निस्वार्थ रुपमा सामाजिक काम गरिरहेको र विदेशमा बसी रहेका नेपालीहरुलाई नेपालसँग जोड्न खोजिरहेको बताए ।

संघका केन्द्रीय सल्लाहकार तथा पूर्व उपाध्यक्ष आचार्यले सन् २०२१-२३ का लागि संघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन । तर संघको दशौँ महाधिवेशनका लागि डेलिगेट्स (प्रतिनिधि) चयनको विषयलाई लिएर उत्पन्न विवादका कारण महाधिवेशन तथा चुनाव पर सरेको छ ।

यस अघि संघले अक्टोबर २३-२५ मा महाधिवेशन गर्ने मिति तोकेको थियो । कार्यक्रममा एनआरएनए यूकेको तर्फबाट अध्यक्ष प्रेम गाहा मगरले आयोजित संघका राष्ट्रिय समन्वय परिषदहरुको पहिलो विश्व भेलाले पारित गरेका निष्कर्षहरु प्रधानमंत्री देउवालाई हस्तान्तरण गरेका थिए ।

उक्त भेलाले संघको विधानको मर्म र भावना अनुरुप ६५ प्रतिशत डेलिगेट्स चयन गर्ने जिम्मा २०२१-२३ का लागि निर्वाचित कार्यसमितिलाई दिन माग गरेको थियो । त्यस्तै गैरआवासीय नेपाली संघको विधानको व्यवस्था बमोजिम २ वर्ष भित्र महाधिवेशन गर्न नसकेको कारणले संघको विधानको धारा १६ (१) को (४) मा उल्लेख भए बमोजिम संस्थाको साख बचाउन पहल गर्नु पर्ने जिम्मेवारी संरक्षक परिषदमाथि आइ पुगेको भेलाले ठहर गरेको थियो ।

“संघको इतिहासमै उत्पन्न अभूतपूर्व संकटलाई हालै कार्यकाल पुरा गरेको आइसीसी, नव निर्वाचित आइसीसी सदस्यहरु, सल्लाहकारहरु तथा हामी सम्पूर्ण एनसीसीहरुसंग छलफल र परामर्श गरी निकास निकाल्ने वैधानिक दायित्व पुरा गर्न संरक्षक परिषद अग्रसर हुनुपर्ने भेलाको ठहर रहेको थियो ।