प्रधानन्यायाधीशले पठाए आन्दोलनरत न्यायाधीशलाई ‘सम्मानजनक बहिर्गमन’को प्रस्ताव

प्रधानन्यायाधीशले पठाए आन्दोलनरत न्यायाधीशलाई ‘सम्मानजनक बहिर्गमन’को प्रस्ताव



काठमाडौैं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आन्दोलनरत न्यायाधीशलाई आफ्नो सम्मानजनक निकासको प्रस्ताव अघि सारेका छन् । सर्वोच्च अदालतका अरु न्यायाधीशको तर्फबाट छलफलका लागि गएका न्यायाधीशसमक्ष उनले सम्मानजनक निकासको प्रस्ताव गरेका हुन् ।

उनले सर्वोच्चमा आन्दोलन सुरु भएको १ हप्ता पुग्दा जबराले आफ्नो अडान फेरेका हुन् । आफू निकट न्यायाधीशमार्फत जबराले ‘सम्मानजनक बहिर्गमन’को प्रस्ताव अगाडि सारेका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीश जबरासँगको छलफलका लागि न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्मालाई पठाएका थिए ।

आज (आइतबार) जबराले आफू निकट न्यायाधीश मनोज शर्मामार्फत आफूले ‘सम्मानजक बर्हिगमन’ चाहेको प्रस्ताव पठाएका हुन् । जबराले अहिले दुई पक्षका बीचमा वार्ता समेत अवरुद्ध भएको र यसले निकास नदिने भएकाले वार्ता पनि जारी राख्न र आफ्नो बर्हिगमनको विकल्पहरु पनि सुझाउन न्यायाधीश शर्मामार्फत् प्रस्ताव पठाएका हुन् ।

दबाबमा परेका जबराले आइतबार सम्मानजनक बहिर्गमनको प्रस्ताव राखेका हुन् । आजबाट बार एसोसियशनले राजीनामा माग गर्दै सर्वोच्च परिसरमै कालो पट्टी बाँधेर आन्दोलनका कार्यक्रम सुरु गरेका छन् ।