काे हुन् अमेरिकाका लागि राजदूत सिफारिस श्रीधर खत्री ?

काे हुन् अमेरिकाका लागि राजदूत सिफारिस श्रीधर खत्री ?



अमेरिकाका लागि राजदूत सिफारिस प्राध्यापक श्रीधर खत्री । उनी नेपालको परराष्ट्र मामिलामा पहिलो पंक्तिमध्येका अन्तर्राष्ट्रिय मामला विज्ञ मानिन्छन् । उनले लामो समयदेखि नेपालको विदेश नीति निर्माणमा विभिन्न भूमिकामा रहेर काम गरिसकेका छन् । अन्तर्राष्ट्रिय सम्बन्धका ज्ञाता प्राध्यापक खत्री केवल प्राध्यापन पेशामा मात्र सीमित नरहेर विभिन्न अन्तर्राष्ट्रिय संस्था र अनुसन्धान संस्थामा उल्लेखनीय भूमिका खेल्दै आएका छन् । खत्रीको अनुसन्धान पत्रहरू परराष्ट्र मामिलाका अध्येताका लागि मार्गनिर्देशन बन्ने गरेका छन् ।

राजनीतिशास्त्रका प्राध्यापक खत्री सधै अध्ययन–अनुसन्धानमा व्यस्त हुने गर्छन् । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान, त्रिभुवन विश्‍वविद्यालयअन्तर्गत नेपाल एसियाली अध्ययन केन्द्र र दक्षिण एसियाली नीति अध्ययन केन्द्रको पूर्वकार्यकारी निर्देशककोरुपमा पनि काम गरिसकेका छन् ।

खत्री अमेरिकामा सत्तरीकै दशकमा राजनीति र कूटनीतिमा उच्च शिक्षा लिएका अन्तर्राष्ट्रिय राजनीतिका र कूटनीतिका विज्ञ हुन् । उनले अमेरिका, श्रीलंका र सिंगापुरमा रहेर यस क्षेत्रको रणनीतिक अध्ययनसमेत गरेका छन् । उनी अझै पनि कतिपय त्यस्ता अध्ययन गर्ने विश्‍वविद्यालय र निकायसँग निकट छन् । अमेरिकामा नै लामो अध्ययन गरेका र त्यहीको विश्वविद्यालय, नेपाल र सिंगापुरमा समेत अध्यापन गराउने व्यक्ति हुन् उनी ।

उनकै संयोजकत्वमा परराष्ट्र नीति पुनरावलोकन उच्चस्तरीय समिति बनेको थियो । खत्री आफ्नो समितिको सुझावलाई परराष्ट्रले पुराना सुझाव झैँ दराजमा थन्काउँदै कार्यावन्यन नगरेकोमा दुःखी छन् । उनी नेतृत्वको टोलीले कूटनीतिक सुधार र कार्यान्वयन गर्न प्रतिवेदन दिए पनि त्यसलाई लत्याएर यसअघिको सरकारले परराष्ट्र नीति सार्वजनिक गर्‍यो । समग्र मुलुकको नीति हुनुपर्नेमा राणाकालीन समयमा झैँ अझै पनि दल वा नेताको, त्यति मात्र नभएर उनीहरूको सानो कोटरीको नीति बनाउनेतिर मात्र उन्मुख हुँदा सुधार सहज नरहेको बुझाइ उनको छ । राजाको शासनकालमा नेपालका हस्ती कूटनीतिज्ञ पदमबहादुर खत्रीका छोरा श्रीधर कूटनीतिक र सुरक्षाको मामिलामा पिताको जस्तै अध्ययन गरेका व्यक्ति हुन् ।