काठमाडौं । आज आयुर्वेद चिकित्साशास्त्रका प्रवर्तक भगवान् धन्वन्तरीको अवतार जयन्ती । आज धन्वन्तरी जयन्तीका साथै नेपालभर विभिन्न कार्यक्रम गरी राष्ट्रिय अरोग्य दिवससमेत मनाइँदै छ ।
कात्तिक त्रयोदशीका दिन आयुर्वेदका प्रणेता भगवान् धन्वन्तरीको उत्पत्ति भएको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ । सत्य युगमा समुद्र मन्थन गर्दा अमृतको घडासहित कात्तिक कृष्णपक्ष त्रयोदशीका दिन भगवान् धन्वन्तरीको प्रकट भएको थियो । धन्वन्तरीलाई भगवान् विष्णुका २४ वटा अवतारमध्ये एक अवतार मानिन्छ ।
आयुर्वेदको ज्ञान सर्वप्रथम आत्रेय ऋषिले लिएको कथन रहेको छ । एक लाख श्लोक र एक हजार अध्याय भएको ब्रह्मसंहिताको ज्ञान आत्रेय ऋषिले लिएका थिए । यही संहितालाई पछि आठ भागमा विभाजन गरेरियो, जसलाई अष्टाङ्ग आयुर्वेद भनिन्छ ।
भगवान् धन्वन्तरीको जन्मजयन्तीको अवसरमा आज काठमाडौंको वैद्यखानामा धन्वन्तरी भगवान्को विशेष पूजाआजा गर्ने गरिन्छ ।
२०५६ सालमा पूर्वराष्ट्रपति डा. रामवरण यादव स्वास्थ्यमन्त्री हुँदा आयुर्वेद क्षेत्रका व्यक्तिहरूको पहलमा नेपालमा धन्वन्तरी दिवसलाई राष्ट्रिय आरोग्य दिवसको रूपमा मनाउने निर्णय भएको थियो । त्यसपछि नियमित रूपमा यो दिवस मनाइँदै आइएको छ ।
प्रतिक्रिया