लगातार चौथो जितसँगै इंग्ल्याण्ड सेमिफाइनलमा

लगातार चौथो जितसँगै इंग्ल्याण्ड सेमिफाइनलमा



काठमाडौं । लगातार चौथो जितसँगै इंग्ल्यान्ड टी-ट्वाण्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार राति सुपर-१२ को समूह-१ मा रहेको श्रीलंकालाई २६ रनले हराउँदै इंग्ल्याण्डले सेमिफाइनलमा यात्रा तय गरेको हो । जितका लागि १६४ रनको लक्ष्य पछ्याएको श्रीलंका १९ ओभरमा १३७ रनमा अल आउट भएको थियो ।

श्रीलंकाका वानिन्दु हसरंगाले सर्वाधिक ३४ रन बनाए । भानुका राजपक्षे र दासुन शनाका समान २६ रनको योगदान दिए । इंग्ल्यान्डका आदिल राशिद, क्रिस जोर्डन र मोईन अलीले २-२ विकेट लिए ।

यसअघि शारजाहमा टस हारेर ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो । इंग्ल्यान्डका ओपनर जस बटलरले १०१ रनको अविजित शतकीय इनिङ खेले । ओईन मोर्गनले ४० रनको योगदान दिए । श्रीलंका स्पिनर वानिन्दु हसरंगाले ३ विकेट लिए ।

यसअघि इंग्ल्यान्डले वेस्टइन्डिज, बंगलादेश र अष्ट्रेलियालाई पराजित गरेको थियो । सुपर -१२ को समूह – १ मा इंग्ल्यान्ड ४ खेलमा ४ जितका साथ ८ अंक जोड्दै शीर्ष स्थानमा छ । अष्ट्रेलिया दोस्रो स्थानमा छ । दक्षिण अफ्रिका तेस्रो स्थानमा रहँदा श्रीलंका चौथो स्थानमा छ । वेस्टइन्डिज पाँचौ स्थानमा रहँदा बंगलादेश अंक तालिकाकाे पुछारमा छ । समूह- २ मा पाकिस्तान ३ खेलमा ३ जितका साथ शीर्ष स्थानमा छ ।