न्युजिल्याण्ड पहिलो पटक टी-ट्‍वान्टी विश्वकपको फाइनलमा

न्युजिल्याण्ड पहिलो पटक टी-ट्‍वान्टी विश्वकपको फाइनलमा



न्युजिल्याण्डले इङ्ल्याण्डलाई पराजित गर्दै पहिलो पटक टी-ट्‍वान्टी विश्वकपको फाइनलको यात्रा तय गरेको छ । आइसीसी टी-ट्‍वान्टी विश्वकप २०२१ को पहिलो सेमिफाइनल खेलमा न्युजिल्याण्डले इङ्ल्याण्डलाई पाँच विकेटले हराउँदै पहिलो पटक फाइनलमा पुगेको हो ।

शेख जायद स्टेडियम अबुधाबीमा टस हारेर पहिलो ब्याटिङ थालेको इङ्ल्याण्डले २० ओभरमा चार विकेट गुमाउँदै १६६ रन बनाएको थियो । इङ्ल्याण्डका अलराउण्डर मोइन अलिले सर्वाधिक ५१ रनको अविजित पारी खेलेका थिए । जीतका लागि १६७ रनको बलियो विजय लक्ष्य पछ्याएका न्युजिल्याण्डले १९ ओभरमा पाँच विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।

न्युजिल्याण्डका ओपनर ब्याट्सम्यान डर्याल मिचेलले ४७ बलमा चार छक्का र चार चौकासहित ७२ रनमा अविजित रहँदै न्युजिल्याण्डलाई फाइनलमा पुर्‍याएका थिए । अन्तिम चार ओभरमा ५७ रनको आवश्यकता बोकेको न्युजिल्याण्ड १७औं ओभरमा जिमि निसमले २३ रन प्रहार गरेपछि खेलले नयाँ मोड लिएको थियो ।

खेलको सुरुवातदेखि नै दवावमा परेको न्युजिल्याण्डले बिस्तारै पारी सम्हाल्दै खेललाई आफ्नो पक्षमा पार्दै जीत निकाल्न सफल भएको हो । यो जीतसँगै न्युजिल्याण्ड पहिलो पटक फाइनलमा पुगेको हो ।

यसअघि न्युजिल्याण्ड सन् २००७ र २०१६ को विश्वकप संस्करणमा सेमिफाइनलबाटै बाहिरिएको थियो । सन् २०१६ को सेमिफाइनलमा इङ्ल्याण्ड सँगै सात विकेटले पराजित भएको थियो । टी-ट्‍वान्टी विश्वकपको दोस्रो सेमिफाइनल खेल आज पाकिस्तान र अष्ट्रेलियाबीच खेलिंदैछ । खेल दुबई इन्टरनेशनल स्टेडियममा नेपाली समय साँझ ७.४५ बजेबाट सुरु हुँदैछ ।