१० औं महाधिवेशनको निर्वाचन मिति घोषणा गर्ने तयारीमा एनआरएनए

१० औं महाधिवेशनको निर्वाचन मिति घोषणा गर्ने तयारीमा एनआरएनए



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशन तथा विश्व सम्मेलनको मिति अझै अन्योलमा नै छ । परराष्ट्र मन्त्री डा. नारायण खड्कासँग हिजाे विहीबार एनआरएनए अध्यक्षको टिमसँग भएको भेटमा संघभित्रको आन्तरिक विवाद मिलाएर आउन निर्देशन दिएको बताइएकाे छ ।

परराष्ट्र मन्त्रालयमा मन्त्री डा. खड्कासँग एनआरएनएका अध्यक्ष कुमार पन्त, महिला उपाध्यक्ष रविना थापा र पूर्व अध्यक्ष जीवा लामिछानेबीच भएको छलफल निष्कर्षमा पुग्न नसकेको हो । एनआरएनएका अध्यक्ष कुमार पन्तले परराष्ट्र मन्त्रीसँगको छलफल सकारात्मक भएको र अव एनआरएनएको महाधिबेशन छिट्टै हुने र घोषणा गर्ने बताए । उनले भने परराष्ट्र मन्त्रीसँग छलफल भयो, अव मन्त्रालयले महाधिबेशन गर्न रोक्दैन, चुनाव छिट्टै हुन्छ ।’

बैठकमा मन्त्री खड्काले प्रतिनिधी छनौटका विषयमा भएको प्रगतिबारे चासो राखेका थिए । त्यसपछि एनआरएनए अध्यक्ष पन्तले कोषाध्यक्ष महेश श्रेष्ठसहितको कार्यदलले तयार पारेको प्रतिनिधी छनौटका समाधान बारेको रिपोर्ट, हालसम्म परराष्ट्र मन्त्रालयले उठाएका सरोकार र समाधानका उपायसहितको लिखित सुची प्रस्तुत गरेका थिए ।

यस अघिनै परराष्ट्र मन्त्री डा खड्काले पूर्व अध्यक्षहरुको बिच प्रतिनिधी छनौटका विषयमा सहमति गरेर आउनुस्’ भनेका थिए । अध्यक्ष पन्तले एक दुई दिनभित्रैमा मतदाता सूची परराष्ट्र मन्त्रीलाई बुझाउने र महाधिवेशनको मिति तोक्ने बताएका छन् । एनआरएनएको दशौँ महाधिबेशनका लागि तयार गरिएको डेलिगेट्स सूचीमा धांधली गरिएको भन्दै मन्त्रालयमा उजुरी परेपछि मन्त्रालयले २ पटक एनआरएनएलाई पत्र लेखिसकेको छ।