डा.संज्ञा मल्ल राष्ट्रसंघको ‘वर्ष महिला प्रहरी –२०२१’

डा.संज्ञा मल्ल राष्ट्रसंघको ‘वर्ष महिला प्रहरी –२०२१’



काठमाडौँ । संयुक्त राष्ट्रसंघले नेपालकी डा.संज्ञा मल्ललाई ‘वर्ष महिला प्रहरी –२०२१’ अवार्ड प्रदान गर्ने भएको छ । मोनुस्को (MONUSCO) मा अनपोल चिफ अफ हेल्थ एण्ड इन्भाईरोमेन्ट यूनिट किन्सासामा हाल कार्यरत प्रहरी उपरीक्षक डा. मल्ललाई उक्त अवार्ड प्रदान गर्ने घोषणा गरिएको संयुक्त राष्ट्रसंघ प्रधान कार्यालयले जनाएको छ । मल्ल अफ्रिकी राष्ट्र कंगोमा संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत छिन् । मल्ल राजधानी किन्सासामा रहेको मिसनको मुख्यालयमा जनस्वास्थ्य तथा वातावरण इकाई प्रमुख हुन् ।

राष्ट्रसंघले जारी गरेको विज्ञप्तिमा इबोला र कोभिड–१९ को महामारी तथा गत मे महिनामा भएको ज्वालामुखी विस्फोटसहितको प्राकृतिक प्रकोपमा मल्लले खेलेको भूमिकालाई सो अवार्ड प्रदान गरिएको उल्लेख छ ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार भर्चुअल माध्यमबाट आयोजना हुने कार्यक्रममा मल्ललाई सो अवार्ड प्रदान गर्ने कार्यक्रम छ । महासचिव गुटेरेसले शान्ति मिसनमा कार्यरत रहेको मल्लको कार्यले कोभिड–१९ महामारी र अन्य जोखिममा राष्ट्रसंघीय सुरक्षाकर्मीलाई अनुकूलन हुने सुरक्षात्मक उपायलाई वृद्धि गरेको जनाएका छन् ।

उनले कोभिड–१९ संक्रमण रोकथाम तथा अनुकूलनको गाईडलाइन निर्माण गरेकी थिइन् । उनको नेतृत्वमा कोभिड–१९ को माहामारी रोकथामका लागि स्थानीय बासिन्दा, कंगोका सरकारी अधिकारी तथा राष्ट्र संघमा कार्यरतहरुका लागि ३ सयभन्दा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो । त्यसैगरी, खोपको विषयमा सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो ।