नेपाली जनसम्पर्क समिति अमेरिकाबाट १४ जना महाधिवेशन प्रतिनिधि, बिष्टले जिते बाजी, संस्थापनका १० जना

नेपाली जनसम्पर्क समिति अमेरिकाबाट १४ जना महाधिवेशन प्रतिनिधि, बिष्टले जिते बाजी, संस्थापनका १० जना



काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि नेपाली जनसम्पर्क समिति अमेरिकाले १४ जना प्रतिनिधि छनौट गरेको छ । प्रतिनिधिमा छानिएकामा आनन्द (गोरख) विष्ट, बिद्यासागर योञ्जन, विष्णु सुबेदी, धनन्जयनरसिंह केसी, मुनिन्द्र नेम्वांग, गौतम दाहाल, सुवास लामा, अमृत भट्टराई, रामशरण हुमागाई, लक्ष्मी केसी, यादव पण्डित, विश्व बाँस्तोला, भरत अर्याल र कृष्ण लामिछाने छन् ।

भर्चुअल माध्यमबाट अधिवेशन आयोजना गरिएको थियो । हिजो आइतबार पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउबाले अधिवेशनको उद्घाटनसहित शुभकामना मन्तव्य दिएपछि अधिवेशन अघि बढेको थियो ।

समितिका सभापति आनन्द विष्टको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा पार्टीका कांग्रेस सह–महामन्त्री डा. प्रकाशशरण महत, कांग्रेस केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेशका नव निर्वाचित सभापति बीरबहादुर बलायर, जनसम्पर्क समन्वय विभाग प्रमूख कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई, नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महर, अधिवेशन सम्पन्न गर्न तोकिएका केन्द्रीय प्रतिनिधि नारायण सुबेदीलगायतका अतिथिहरुले सम्बोधन गरेका थिए ।

संस्थापन पक्षका दशजना प्रतिनिधि चयन भएका छन्। नयाँ नेतृत्व चयनका लागि १४ औं महाधिवेशन पश्चात अधिवेशन गर्ने गरी वर्तमान सभापति एवं कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टकै नेतृत्वको समितिलाई निरन्तरता दिइएको निर्वाचन समितिका प्रमूख डा. विनोद शाहले जानकारी दिए । ‘अब १४ औं महाधिवेशनपछि अमेरिकामा जनसम्पर्क समितिको सदस्यता विस्तार र च्याप्टर तहको अधिवेशनका लागि कार्य तालिका बनाएर हामी सार्वजनिक गर्नेछौं’ –डा. शाहले भने।

डा. विनोद शाहको संयोजकत्वमा रहेको निर्वाचन समितिमा कृष्ण विष्ट, भक्त थापा, दीपक गौतम र नवीन ओझा सदस्य रहेका थिए । अधिवेशनको केन्द्रीय प्रतिनिधि नारायण सुवेदी (जापान) खटिएका थिए ।