डिवाईसि हेटौडाद्वारा चेपाङ्ग परिवारलाई न्यानो वस्त्र वितरण

डिवाईसि हेटौडाद्वारा चेपाङ्ग परिवारलाई न्यानो वस्त्र वितरण



काठमाडौं । श्री राधा माधव समिति नेपाल सम्वध्द डिभाईन युथ क्लव नेपाल ,हेटौडाद्वारा मकवानपुरको राक्सिरांगमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच ५४ चेपांग परिवारलाई न्यानो वस्त्र वितरण गरियो । सो कार्यक्रममा राक्सिरांग गा.पा. ७ खैरांगमा वसोवास गर्ने अति विपन्न चेपांग परिवारलाई प्रति परिवार १ ,१ ब्ल्यांकेट वितरण गरिएको थियो ।

यस कार्यक्रममा स्थानीय राक्सिराङ्ग गाउपालिकाका अध्यक्ष राजकुमार मल्लले सम्वध्द परिवारका सदस्यलाई ब्ल्यांकेट हस्तान्तर गर्नुभएको थियो । सो अवसरमा गाउपालिकाका अध्यक्ष मल्ल र प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्र्तौलाले यस पावन सेवाका निम्ति आयोजक डिभाईन युथ क्लव हेटौडालाई धन्यवाद ज्ञापन गर्दै क्लवबाट आगामी दिनमा दीन दुखीको सेवामा थप सक्रियताको अपेक्षा गर्नुभयो । स्थानीय युवा सुव्वा लाल मोक्तानको सहजिकरणमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय सहयोगापेक्षी महानुभावहरु, श्री राधा माधव समिति नेपाल तथा डिवाईसि नेपाल हेटौडाका पदाधिकारीहरुको उपस्थिति थियो ।

भक्तियोगरसावतार जगदगुरुत्तमश्री कृपालुजी महाराजको साधना र सेवाको दिव्य निर्देशन अनुशरण गर्दै नेपालका राष्ट्रिय सन्त स्वामी श्री हरिदासजीको सत्प्रेरणाबाट डिभाईन युथ क्लव नेपालले विगत ९.वर्षयता विविध सामाजिक सेवाका कार्यहरु संचालन गर्दै आएको छ । यसै सिलसिलामा देशव्यापी न्यानो वस्त्र वितरण अभियान २०७८ अन्तर्गत आयोजित उक्त कार्यक्रम पांचौ हो । अति विपन्न परिवारलाई लक्षित यस कार्यक्रमलाई अन्यत्र पनि द्रुतगतिमा विस्तार गर्ने डिवाईसिको योजना रहेको छ ।