धनगढी । कैलालीमा द्वन्द पिडित महिलालाई रोजगार समाग्री हस्तान्तरण गरिएको छ । अलर्ट, टिपिओ नेपाल तथा महिला कानून र विकास मञ्च कैलालीले करिव ५ लाख बराबरको रोजगार सामाग्री कैलारी गाउँपालिकाका १० जना द्वन्द्ध पिडित महिलालाई वितरण गरेको हो । द्वन्द्ध पिडित भइ राज्यबाट कुनै सहयोग नपाएका तथा समस्यामा परेका महिलालाई लक्षित गरी सामाग्री हस्तान्तरण गरिएको महिला कानून र विकास मञ्चका निर्देशक अधिवक्ता सविन श्रेष्ठले बताए ।
उनका अनुसार पाँच जना महिलालाई बंगुर, एक जनालाई किराना, एक जना लाई होटेल सम्बन्धी, एक जनालाई कस्मेटिक सामाग्री, एक जना महिलालाई सिलाई मेसिन र एक जना महिलालाई माछाका भुरा वितरण गरिएको छ । सहयोग पाउने महिलालाई यस अघि शिप विकास सम्बन्धी तालिम दिइएको र उनिहरुको माग अनुसार व्यवसाय सञ्चालन गर्न तथा सञ्चालित व्यवसायलाई प्रबर्दन गर्न सामाग्री हस्तान्तरण गरिएको श्रेष्ठले बताए । संस्थाले परिवार केन्द्रित अवधारण अनुरुप द्वन्द्ध पिडितलाई आर्थिक शसक्तिकरणका लागि सहयोग गर्ने गरेको उनले बताए ।
सहयोग सामाग्री पाउने महिलाले अव आत्मनिर्भर हुन सहज हुने बताएका छन् । ‘राज्यकै कारण पिडित भएका हामिलाई राज्यले कहिलै हेरेन,’ शिलादेवी चौधरीले भनिन्, ‘केही काम गर्ने इच्छा हुँदाहुँदै पनि आर्थिक समस्याका कारण असहज भइरहेको थियो, अव स्वरोजगार बन्ने इच्छा पुरा हुनेछ ।’
प्रतिक्रिया