अघिल्लो वर्षभन्दा यो वर्ष प्रेस स्वतन्त्रतामा हनन बढी : पत्रकार महासंघ

अघिल्लो वर्षभन्दा यो वर्ष प्रेस स्वतन्त्रतामा हनन बढी : पत्रकार महासंघ




काठमाडौं । नेपाल पत्रकार महासंघले सन् २०२० मा भन्दा २०२१ मा प्रेस स्वतन्त्रतामाथि बढी आक्रमण भएको रिपोर्ट सार्वजनिक गरेको छ । 

सन् २०२१ पनि नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण वर्ष रहेको निष्कर्ष सार्वजनिक गर्दै महासंघले तुलानात्मक रूपमा यस वर्ष अघिल्लो वर्षभन्दा प्रेस स्वतन्त्रता हननका घटना बढेको अभिलेखीकरण सार्वजनिक गरेको छ ।

‘अभिलेखअनुसार सन २०२० मा ५२ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका थिए भने सन् २०२१ जनवरी १ देखि डिसेम्बर ३१ बिहान ११ः०० बजेसम्म ६२ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका छन्,’ महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त ६२ वटा घटनामा १९० जना पत्रकार पीडित भएका र चारवटा सञ्चारमाध्यम प्रभावित हुन पुगेको महासंघले जनाएको छ ।

यस वर्ष पत्रकारमाथि ३२ वटा धम्की तथा दुव्र्यवहारका घटना घटेको, पेसागत असुरक्षाका १० वटा घटना भएको, कब्जा र अवरोधका १० वटा घटना भएको अभिलेख सार्वजनिक गर्दै महासंघले पत्रकारमाथि पाँचवटा आक्रमणका भएको जनाएको छ । 

पत्रकार गिरफ्तारीका चारवटा घटना भएको यो वर्ष नीतिगत बन्देजको घटना भने एक मात्र रहेको महासंघले अभिलेख सार्वजनिक गरेको छ । साथै, यस वर्ष पनि समाचारका विषयलाई लिएर वा समाचार संकलनमा क्रममा विभिन्न पक्षबाट भएका धम्की, आक्रमण, दुव्र्यवहारलगायतका घटनाबाट पत्रकार तथा सञ्चारमाध्यम पीडित हुन पुगेको जनाएको छ । 

मुख्यतः भ्रष्टाचार, अनियमिततालगायतका समाचार लेख्दा वा प्रसारण गर्दा पत्रकार र सञ्चारमाध्यमले समस्या बेहोरिरहनुपरेको छ । विभिन्न समूहले गरेको विरोध प्रदर्शनको समाचार संकलनका क्रममा प्रहरीको लाठी प्रहारबाट पत्रकारहरू घाइते हुन पुगेका उल्लेख गर्दै महासंघले यस वर्ष पनि सार्वजनिक कार्यक्रमका समाचार संकलनमा पत्रकारलाई रोक लगाउने कामले उत्तिकै निरन्तरता पाएको जनाएको छ ।

संसद्, संसदीय समितिका बैठक, मन्त्रीहरूको सपथग्रहण वा विभिन्न राजनीतिक दलका महाधिवेशनलगायतमा पत्रकारलाई समाचार संकलनका क्रममा अवरोध गरिने तथा रोक लगाउने कार्य नरोकिएको उल्लेख गर्दै महासंघले संघ, प्रदेश र स्थानीय सरकारबाट प्रेसविरोधी प्रावधानसहितका सञ्चारसम्बन्धी विभिन्न कानुनहरू बनाउने तथा संसद्मा दर्ता गर्ने काम भइरहेको जनाएको छ ।

संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध रहेका विचाराधीन यी कानुनले नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्थालाईसमेत चुनौती थपिदिएको पनि महासंघको निष्कर्ष छ ।

कोरोना भाइरसको संक्रमणबाट महामारी सुरु भएसँगै अहिलेसम्म २६ जना पत्रकार तथा सञ्चारकर्मीले ज्यान गुमाएका छन् भने जो सन २०२१ मा नै २१ जना पत्रकार तथा सञ्चारकर्मीको ज्यान गएको छ । 

यसैगरी, कोरोना महामारीको बहाना पत्रकारको पेसागत सुरक्षा प्रभावित हुन पुगेको छ । एक वर्षको अवधिमा कोरोना भाइरसको बहाना देखाएर विभिन्न सञ्चारगृहबाट तीन सय ५० जना पत्रकारलाई नियमित तलब नदिने, बेतलवी बिदामा राख्ने र जागिरबाट निष्कासन गर्ने काम भएको छ । 
तर, जसमध्ये झन्डै तीन सयजना पत्रकारको समस्या सम्बोधन भएको छ भने ५० जना पत्रकारको समस्या समाधानका लागि महासंघले कानुनी तथा दबाबमूलक पहल गरिरहेको महासचिव रोशन पुरीले सार्वजनिक गरेको अभिलेखमा उल्लेख छ  ।