६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेका एक युवालाई जन्मकैदको फैसला

६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेका एक युवालाई जन्मकैदको फैसला



रसुवा । जिल्ला अदालत रसुवाले ६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेका एक युवालाई जन्मकैदको फैसला सुनाएको छ ।

नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका ५ घर भई हाल रसुवाको गोसाईकुण्ड गाउँपालिका ६ धुन्चेमा बस्ने बर्ष २२ का यमप्रसाद भट्टराईलाई जिल्ला न्यायाधीश राजेन्द्र नेपालको इजलासले जन्मकैदको फैसला सुनाएको हो ।

२०७७ पुस १८ गते शनिबार खेलिरहेकी बालिकालाई भट्टराईले आफनो घरको कोठामा लगी करणी गरेको भन्दै पिडित परिवारले जिल्ला प्रहरी कार्यालय रसुवामा उजुरी दर्ता गरेका थिए ।

पिडितको उजुरीका आधारमा अभियुक्तलाई पक्राउ गरी आवश्यक अनुसन्धान पछि पुर्पक्षका लागि कारागार चलान गरिएको थियो ।

प्राप्त प्रमाणहरुको आधारमा भट्टराईले पिडित नाबालिकालाई मोबाइल खेल्न दिन्छु भनी ललाई फकाई आफनो कोठामा लगि जबरजस्ती करणी गरेको पुष्टि भएको रसुवा जिल्ला अदालतका श्रेष्तदार मुना अधिकारी ढकालले बताए ।

त्यसैगरि प्रतिबादीलाई ६ लाख रुपैया जरिवाना तोकिएको छ भने पिडितलाई क्षतिपूर्ति वापत ५० हजार भराईने भएको छ । फैसलापछि संचारकर्मीसँगको कुराकानीमा पिडित बालिकाको आमाले न्याय पाएको महसुस गरेको बताए ।