ग्लोबल रिस्क रिपोर्ट २०२२: नेपालका लागि यी हुन् सबैभन्दा ठूला पाँच खतरा

ग्लोबल रिस्क रिपोर्ट २०२२: नेपालका लागि यी हुन् सबैभन्दा ठूला पाँच खतरा



काठमाडौं । विश्वमा पर्यावरणसँग जाेडिएका जलवायु परिवर्तन, मौसममा चरम परिवर्तन र जैविक विविधताकाे नाेक्सानी सबैभन्दा ठूला खतरा औँल्याइएकाे छ । नेपालमा पनि पछिल्लाे समय जलवायु परिवर्तनका मुद्दा जटिल बन्दै गएकाे छ ।

हालकाे अवस्थामा त काेभिड-१९ सबैभन्दा ठूलाे चुनाैती बनेर खडा भएकाे छ ।

तर, वर्ल्ड इकोनमिक फोरम (डब्लूईएफ) द्वारा जारी ‘ग्लोबल रिस्क रिपोर्ट २०२२’ अनुसार नेपालमा सबैभन्दा ठूलाे खतरा राेजगारी र जिविकाेपार्जनमा संकट रहेकाे छ ।

डब्लूईएफद्वारा जारी रिपोर्टअनुसार नेपालमा बेराेजगारीकाे समस्या बढ्दै गएकाे छ । त्यसपछि दाेस्राे ठूलाे खतराकाे रुपमा मानवका कारण पर्यावरणमा क्षति रहेकाे छ । प्राकृतिक स्राेतकाे बढ्दाे दाेहनका कारण नेपालमा पर्यावरणमा क्षति बढ्दै गएकाे हाे ।

तेस्राे ठूलाे खतरामा भूराजनीतिकीकरण रणनीतिक स्रोतलाई लिइएकाे छ भने चाैथाेमा संक्रामक राेगकाे संक्रमण खतरा रहेकाे छ । नेपालमा काेभिड-१९ मात्र हाेइन विभिन्न खाले संक्रामक राेगकाे प्रकाेप बेलाबेला फैलने गरेकाे छ ।

पाँचाै नम्बरमा डिजिटल असमानता र लामाे समयसम्म स्थिर अर्थतन्त्रलाई राखिएकाे छ । प्रविधिकाे क्रान्तिसँगै डिजिटल प्रयाेग बढे पनि गाउँघर तथा विपन्न नागरिक डिजिटल सेवाबाट टाढै छन् । जसकारण डिजिटल सेवाका कारण धनि र गरिबबीचकाे खाडल झन बढ्ने आँकलन गरिएकाे हाे । नेपालमा आर्थिक विकासले गति नसमात्दा स्थिर छ । कुल जनसंख्याकाे झन्डै आधा जनशक्ति श्रमशक्ति रहे पनि विकासले फडकाे मार्न नसक्दा समस्या बढेकाे हाे ।

वर्ल्ड इकोनामिक फोरम (डब्लूईएफ)ले हरेक वर्ष ग्लोबल रिस्क रिपोर्ट जारी गर्छ । जसमा विश्वसामु सबैभन्दा ठूला खतरा पहिचान गरिएकाे हुन्छ जसलाई पाँच श्रेणीमा विभाजन गरिन्छ । जसमा पर्यावरण, सामाजिक, आर्थिक संकट, जियो-पाेलिटिक्स र अन्य विषय समावेश गरिएकाे हुन्छ ।

याे वर्ष’ग्लोबल रिस्क रिपोर्ट २०२२’, मा १२४ देशका १२ हजारभन्दा बढी दिग्गजका धारणा पनि समावेश गरिएकाे छ। त्यसबाहेक सर्वे पनि गरिएकाे छ ।