देशका ९ जिल्ला कोरोनाको रेड जोनमा

देशका ९ जिल्ला कोरोनाको रेड जोनमा



काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४ घण्टामा देशभर ६७३४ जना संक्रमण पुष्टि भएको छ । त्यस्तै त्यसमध्ये काठमाडौँ उपत्यकामा ३९३९ जना संक्रमित भएका छन् ।

मन्त्रालयका अनुसार देशका ७७ वटै जिल्लामा कोरोना संक्रमित देखिएका छन् । जसमा ९ जिल्ला कोरोना संक्रमणको रेड जोनमा रहेका छन् । अर्थात ९ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । जसमा मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, कास्की, रुपन्देही र कैलाली रहेका छन् ।

त्यस्तै दुई सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्ला ८ रहेका छन् । जसमा झापा, धनुषा, पर्सा, मकवानपुर, काभ्रे, नवलपरासी पूर्व, बाँके र दाङ रहेका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३० हजार ८७७ पुगेका छन् । त्यस्तै आइसीयुमा १३९ जना छन् भने देशभर २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । त्यस्तै संस्थागत आइसोलेसनमा ११७२ जना छन् भने होम आइसोलेसनमा २९ हजार ७०५ जना रहेका छन् ।