दक्ष जनशक्ति उत्पादनमा पोउवा संघ र सिटिइभिटीबीच सहकार्य

दक्ष जनशक्ति उत्पादनमा पोउवा संघ र सिटिइभिटीबीच सहकार्य



पोखरा । पोखरा उद्योग वाणिज्य संघ र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बजारको आवश्यकता अनुरुपको तालिम आयोजना गर्न तयार भएका छन् । संघ तथा सिटिइभिटी गण्डकीबीच मंगलबार भएको अन्तरक्रिया कार्यक्रममा सो सहमति बनेको हो ।

कार्यक्रममा व्यवसायीहरुले बजारको आवश्यकता अनुरुपको तालिममा जोड दिए भने सिटिइभिटीबाट सोही अनुरुपको तालिम दिने प्रतिवद्धता व्यक्त भयो । बजारको आवश्यकता अनुरुपको तालिम छिट्टै संचालनमा ल्याइने पनि सो अवसरमा जानकारी गराइयो ।

कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले सानो पुँजीबाटै व्यवसाय सुरु गर्ने वातावरण निर्माणमा जोड दिँदै तालिमहरु स्वरोजगार एवं रोजगारी सिर्जना गर्ने खालका हुनुपर्ने बताए । बजारमा दक्ष कामदार नपाइनु र बेरोजगारी बढ्दै जाने स्थिति अन्त्यको लागि बजारको माग अनुसारको तालिम आयोजना हुनुपर्ने उनको भनाइ थियो ।

सो अवसरमा बोल्दै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) गण्डकीका निर्देशक प्रमोदभक्त आचार्यले सिटिइभिटी बजारको आवश्यता अनुरुपको तालिम दिन तयार रहेको बताए । सिटीइभिटी उद्यमी बनाउने अभियानमा लागेको बताउँदै उनले तालिम लिएकाहरुलाई ३ प्रतिशत ब्याजदरमा ऋणको व्यवस्था गरिएको पनि जानकारी दिए । निजी क्षेत्रको आवश्कयता अनुसारको जनशक्ति निर्माणको लागि नयाँखाले तालिम दिइने पनि उनको उद्घोष थियो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै पोउवा संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कीले संघले उद्योगी÷व्यवसायीहरुको माग अनुसारको तालिमको समन्वय गर्ने जानकारी दिए । वाणिज्यतर्फका उपाध्यक्ष अर्जुन पोखरेलले सेवा उद्योग र विशेष गरी पर्यटन उद्योगलाई चाहिने जनशक्ति उत्पादनमा ध्यान दिन सिटिइभिटीसँग आग्रह गरे । पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान विजुक्छेबाट संचालित कार्यक्रममा आफ्नो धारण राख्दै संघका कोषाध्यक्ष बलराम आचार्यले तालिम जीवनोपयोगी हुनुपर्नेमा जोड दिए । पोखरा हार्डवयर एसोसियनका अध्यक्ष शेषकान्त ढकालले पानीको धारा,बिजुली,मोटर मेकानिक क्षेत्रमा दक्ष नेपाली जनशक्ति नभएको बताए ।

पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य हिरामणि पण्डितले पछिल्लो समय फर्निचरमा रङरोगन गर्ने काममा महिलाहरुको आकर्षण बढेको बताउँदै उनीहरुलाई तालिम आवश्यक रहेको औंल्याए । संघका कार्यसमिति सदस्य यमनाथ तिमिल्सिनाले बजारमा सिरक–डसना बनाउने नेपाली कामदारसमेत नपाइने जानकारी दिए । मुद्रण व्यवसायी संघ कास्कीका अध्यक्ष गिरबहादुर श्रेष्ठले मुद्रण उद्योगमा दक्ष डिजाइनर र प्रेस अपरेटरको अभाव रहेको बताए । संघका कार्यसमिति बालकृष्ण कोइरालाले हेभी इक्प्युपमेण्ट र निर्माण क्षेत्रका साना मेसिन चलाउने मान्छे पाउनै मुस्किल रहेको जानकारी दिए ।

संघकी कार्यसमिति सदस्य पवित्रादेवी गुरुङले दक्षताको लागि तालिम दिइनुपर्ने र यसको लागि लामो खालको तालिम आयोजना हुनुपर्ने बताइन् । मुद्रण उद्योग महासंघ गण्डकीका महासचिव बसन्त बास्तोलाले पनि तालिम विशिष्ठीकृत हुनुपर्ने बताए । पोउवा संघका कार्यसमिति सदस्य उत्तममान बुद्धाचार्यले गहना निर्माणको क्षेत्रलाई आवश्यक पर्ने जनशक्ति उत्पादनप्रति ध्यानाकर्षण गराए । अर्का सदस्य सुदीप प्रधानाङ्गले टायल र मार्बलको काम गर्ने मान्छे बजारले खोजेको बताए । बालश्रम न्यूनीकरण कार्यक्रमकी कार्यक्रम अधिकृत प्रिति पाण्डेले अपाङ्गता र बृद्धबृद्धाको हेरचाह गर्ने जनशक्ति उत्पादनप्रति ध्यानाकर्षण गराइन् । सबैको सुझावपछि सिटिइभिटीका सहनिर्देशक जीवन भण्डारीले बजारको मागलाई छिट्टै संवोधन गरिने प्रतिवद्धता व्यक्त गरे ।