पशुपतिमा आजदेखि नित्य पूजा मात्र, मनकामना प्रवेशमा रोक

पशुपतिमा आजदेखि नित्य पूजा मात्र, मनकामना प्रवेशमा रोक



काठमाडौं । कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण बढ्दै गएपछि आजदेखि लागू हुनेगरी धार्मिक कार्यक्रम पनि संकुचन गरिएकाे छ । काठमाडाैं उपत्यकामा रहेका तीन वटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै आजदेखि माघ मसान्तसम्म मन्दिर, मस्जिद गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा नित्य पूजा, ध्यान र प्रार्थना मात्र खुला रहने बताएका छन् । त्यसबाहेकका पूजापाठ हुने छैन ।

पशुपति क्षेत्र विकास काेषले पनि एक सूचना जारी गरी आजबाट लागू हुनेगरी पशुपतिनाथ, गुह्वेश्वरी लगायत पशुपति क्षेत्रका मठमन्दिरमा परम्परागत नित्य पूजा बाहेकका सम्पूर्ण क्रियाकलाप बन्द गरिएको जानकारी दिएकाे छ ।

मनकामना प्रवेशमा रोक
गोरखाको मनकामना मन्दिरमा आगामी शुक्रबारदेखि भक्तजन प्रवेशमा रोक लगाइने भएको छ । देशभर तेस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमण फैलन सक्ने जोखिमलाई ख्याल गर्दै मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरिएको हो ।

कोरोना तीव्ररुपमा फैलिएपछि भक्तजनका लागि पूजाआजामा रोक लगाउने निर्णय गरिएको मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले जानकारी दिए ।

समितिको हिजो बसेको बैठकले मन्दिरमा शुक्रबारेदखि नित्य पूजाबाहेक अन्य सबै पूजाआजा बन्द गर्ने निर्णय गरेको उनले बताए । “कोरोना सङ्क्रमण दर दिनानुदिन बढ्दो छ”, जोशीले भने, “पूजाआजाका लागि भक्तजनको भीड हुने भएकाले सङ्क्रमण फैलने डरले पूजाआजामा रोक लगाउने निर्णय गरिएको हो ।”माघ मसान्तसम्म मन्दिरमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाउने निर्णय भएको उनले बताए ।