स्टेफनको दुई गोलसँगै टोटनहमको रोमाञ्चक जित

स्टेफनको दुई गोलसँगै टोटनहमको रोमाञ्चक जित



लन्डन । इन्जुरी समयमा स्टेभन बर्गविजनको दुई गोलसँगै टोटनहमले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीविरुद्ध रोमाञ्चक जित निकालेको छ । बुधबार राति भएको खेलमा भ्रमणकारी टोली टोटनहमले घरेलु टोली लेस्टरविरुद्ध ३–२ को जित निकाल्यो । खेलमा दुई पटक सम्म पछि परेको टोटनहमलाई स्टेभनले पुनरागमन जित दिलाएका थिए ।

प्यासन डकाले खेलको २४औं मिनेटमा गोल गर्दै लेष्टरलाई सुरुआती अग्रता बनाए । ३८औं मिनेटमा ह्यारी केनले गोल गर्दा टोटनहम १–१ को अवस्थामा पुग्यो । ७६औं मिनेटमा जेम्स माडिसनले गोल गर्दा पुनः लेस्टरले २–१ दोस्रो पटक अग्रता बनायो ।

जित तर्फ अगाडी बढेको लेष्टरका लागि स्टेभन बाधक बने । इन्जुरी समयको पाँचौ र साँतौ मिनेटमा स्टेभनले गोल गर्दा टोटनहमले रोमाञ्चक ११ औै जित पायो । जितपछि टोटनहम १९ खेलमा ३६ अंक बोकेर पाँचौं स्थानमा छ । समान खेलबाट लेष्टर २५ अंक सहित दशौं स्थानमा छ ।

युनाईटेडको सहज जित
इंग्लिस प्रिमियर लिगमा गएराति भएको खेलमा म्यानचेष्टर युनाईटेडले सहज जित निकालेको छ । बुधबार राति भ्रमणकारी टोली युनाईटेडले ब्रेन्टफोर्डलाई ३–१ अन्तरले पराजित गर्दै १० औं जित निकाल्यो ।

युनाईटेडको जितमा एन्थोनी अलान्गा, मासोन ग्रीनवुड र मार्कोस रसफोर्डले एक एक गोल गरे । घरेलु टोली ब्रेन्टफोर्डका लागि खेलको ८५औं मिनेटमा इभान टोनीले सान्त्वना गोल गरे ।

यस अघि खेलको ५५औं मिनेटमा एन्थोनीले युनाईटेडलाई सूरुआती अग्रता दिलाए । ६२औं मिनेटमा मासोनले गोल गर्दा युनाईट २–०ले अगाडि बढ्यो । रसफोर्डले ७७औं मिनेटमा गोल गर्दा युनाईटेड सहज जिततर्फ लम्कियो । जितपछि २१ खेलबाट युनाईटेड ३५ अंक सहित साँतौ स्थानमा छ । २२ खेलबाट ब्रेन्टफोर्ड २३ अंक सहित १४औं स्थानमा छ । २२ खेलबाट ५६ अंक बनाएको म्यानचेष्टर सिटी शीर्षस्थानमा छ ।