काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा जोर–विजोर हट्यो

काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा जोर–विजोर हट्यो



काठामाडौं । पछिल्लो समय कोरोना संक्रमण दिन प्रति दिन बढ्दै गएपछि काठमाडौं उपत्यकामा सार्वजनिक सवारीमा लगाइएको जोर–विजोर प्रणाली हटेको छ । काठमाडौं उपत्यकामा बस, माइक्रोबस र टेम्पोहरुमा जोर बिजोर प्रणाली हटाइएको छ । शुक्रबार बसेको उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सार्वजनिक सवारीमा लागू भएको जोर–विजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

निजी सवारी र ट्याक्सीहरुमा भने सो व्यवस्था कायमै रहेको छ । यसअघि शुक्रबार नै कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो ।

कोभिडको उच्च जोखिम कायम रहेको निष्कर्ष निकाल्दै सीसीएमसीले तत्काल सबै क्षेत्रलाई खुलाउन नसकिने निर्णय गर्दै अहिलेलाई सार्वजनिक यातायातमा कायम जोर बिजोरलाई हटाउन सिफारिस गरेको हो । यस्तै विद्यालय, रात्रीकालिन व्यवसाय र फिल्म हल पनि माघ मसान्तसम्म बन्द नै राख्ने निर्णय पनि भएको छ ।