नेपाल र मरिससबीचको पहिलो मैत्रीपूर्ण फूटबल आज

नेपाल र मरिससबीचको पहिलो मैत्रीपूर्ण फूटबल आज



काठमाडौं । नेपाल र मरिससबीचको पहिलो मैत्रीपूर्ण फूटबल प्रतियोगिता आज हुँदैछ । एसिया कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीले अफ्रिकी देश मरिसससँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले पहिलो पटक आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग खेल्न लागेको हो ।

कात्तिक पहिलो साता माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपको उपविजेता नेपालले आगामी जुन महिनामा एसिया कप छनोटको तेस्रो चरण खेल्दैछ । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बन्द प्रशिक्षणमा रहेका सबै ३४ जना खेलाडीलाई समेटेर दुई टोली बनाएका छन् ।

दुई मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक अल्मुताइरीले फरकफरक टोलीको घोषणा गरेका छन् । मरिसस फिफा वरीयतामा नेपाल भन्दा पछाडि रहेको टोली हो । मरिससको फिफा वरीयता १७२ र नेपालको १६९ छ ।

नेपालले लामो समयदेखि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जित हासिल गर्न सकेको छैन । सन् २०११ मा फिलिपिन्ससँग मैत्रीपूर्ण खेलमा पराजित भएयता नेपालले कुनै पनि मैत्रीपूर्ण खेल जित्न सकेको छैन ।

त्यसयता नेपालले २३ वटा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेलिसकेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल अपरान्ह पौने पाँच बजे शुरू हुनेछ । यसैबीच स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी रंगशालाको सिट क्षमताको एक तिहाइ दर्शकले रंगशाला प्रवेश गर्न पाउने छन् । करिब १५ हजार दर्शक क्षमता रहेको रंगशालामा बढीमा ५ हजार दर्शकलाई प्रवेश गराइने छ ।