इरिक्सन प्रिमियर लिग क्लब ब्रेन्टफोर्डमा आबद्ध

इरिक्सन प्रिमियर लिग क्लब ब्रेन्टफोर्डमा आबद्ध



लन्डन । इंग्लिस क्लब ब्रेन्टफोर्डले डेनमार्कका मिडफिल्डर क्रिष्टियन इरिक्सनलाई ६ महिनाका लागि अनुबन्ध गरेको छ । युरो कप-२०२० खेलका क्रममा मैदानमा अचेत भई लडेका क्रिष्टियन त्यसयता कुनै क्लबसँग पहिलोपटक जोडिएका हुन् । टोटनहमका पूर्वखेलाडी समेत रहेका इरिक्सन सात महिनापछि फुटबलमा पुनरागमन गर्न लागेका हुन् ।

२९ वर्षीय इरिक्सनले सन् २०२१-२२ को अन्त्यसम्म सम्झौता गरेको ब्रेन्टफोर्डले जनाएको छ । कार्डियोभर्टर डिफिब्रिलेटर (आईसीडी) जडान गरिएपछि इरिक्सन सिरी ए क्लब इन्टर मिलानमा सम्झौता नवीकरण गर्न असफल भएका थिए । ‘म फेरि इरिक्सनसँग काम गर्न उत्साहित छु । उनी प्रिमियर लिगकै एक उत्कृष्ट मिडफिल्डर हुन्,’ ब्रेन्टफोर्डका म्यानेजर थोमस फ्राङ्कले भनेका छन् ।

यसअघि इरिक्सनले टोनटहमबाट २२६ खेल खेल्दा ५१ गोल गरेका थिए । उनी सात वर्ष टोटनहममा रहे । पछिल्लो पटक उनले इन्टर मिलानमा ४३ खेल खेल्दा चार गोल गरेका थिए । डेनमार्कका लागि १०९ खेलमा ३६ गोल गरेका छन् ।