डा. ह्यारी भण्डारीद्वारा दोस्रो कार्यकालका लागि उम्मेद्वारी दर्ता

डा. ह्यारी भण्डारीद्वारा दोस्रो कार्यकालका लागि उम्मेद्वारी दर्ता



मेरिल्यान्ड । डा. ह्यारी भण्डारीले अमेरिकाको मेरिल्याण्ड राज्यमा विधायक पदमा दोस्रो कार्यकालका लागि उम्मेद्वारी दर्ता गरेका छन्। उनले हिजो बिहीबार राजधानी एनापोलिसस्थित मेरिल्याण्ड स्टेट बोर्ड अफ इलेक्सनमा गएर औपचारिक रूपमा उम्मेद्वारी दर्ता गरेका हुन् ।

आफ्नो उम्मेद्वारी अहिलेका लागि डेमोक्रेटिक पार्टीको आधिकारिक उम्मेद्वारी जित्ने आकांक्षाको लागि भएको बताउँदै डेलिगेट डा. भण्डारीले भने, ‘जुन २८ मा हुने डेमोक्रेटिक प्राइमरीमा विजयी भएपछि मात्र नोभेम्बर ८ मा हुने चुनावका लागि डेमोक्रेटिक उम्मेद्वार हुने मेरो ढोका खुल्नेछ।’

मेरिल्याण्डको डिस्ट्रिक्ट ८ का वर्तमान विधायक डा. भण्डारीले यस पटक पनि अमेरिकाको नेपाली समुदायबाट आशीर्वाद, माया, साथ सहयोग र सद्भाव प्राप्त अपेक्षा राखेको बताए । उनले भने, ‘म त्यहीँ भुईंमा उभिएर चुनौतिको यो पहाडलाई अवसरको मैदानमा बदल्ने अभियानमा डट्नेछु । यो अभियान हामी र हाम्रो सन्तान दरसन्तानलाई एकीकृत गर्दै जन्मभूमीसँग जोड्ने साझा अभियान हो। यही पवित्र सोच र कोणबाट मैले आफ्नो उम्मेद्वारी प्रस्तुत गरेको हुँ।’

अमेरिकामा नेपाली समुदायका साझा सपना केही मात्रामा भए पनि साकार हुने दिशामा अगाडि बढिरहेको बताउँदै डा. भण्डारीले छोटो समयमा जुनसुकै क्षेत्रमा रहेर पनि हाम्रो समुदायले जुन उपलव्धी हासिल गरेको छ, त्यो आफैंमा एक मानकको रूपमा उभिएको पनि बताए।