रुसले युक्रेनमा कुनै पनि बेला आक्रमण गर्न सक्ने अमेरिकी चेतावनी

रुसले युक्रेनमा कुनै पनि बेला आक्रमण गर्न सक्ने अमेरिकी चेतावनी



न्युयोर्क । रुसले कुनै पनि बेला युक्रेनमा आक्रमण गर्ने अमेरिकाले चेतावनी दिएको छ। युक्रेनमा आक्रमण गर्न रुसी सेना तयारी अवस्थामा रहेको भन्दै अमेरिकाले आफ्ना नागरिकलाई ४८ घण्टाभित्र युक्रेन छोड्न आह्वान पनि गरेको छ । हवाई बमवारीबाट आक्रमण शुरु हुन सक्ने भन्दै ह्वाइट हाउसले त्यस्तो अवस्थामा युक्रेनबाट निस्कन गाह्रो हुने जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी आक्रमणका कारण अलपत्र परेका कुनै पनि अमेरिकीलाई उद्धार गर्न सेना नपठाउने बताएका छन् । उनले आक्रमण पछिको अवस्था निकै भयानक हुनसक्ने पनि बताएका छन् ।

बेलायत, क्यानडा, नेदरल्यान्ड्स,लात्भिया, जापान, दक्षिण कोरियालगायतका मुलुकले पनि आफ्ना नागरिकलाई युक्रेन छोड्न आह्वान गरेका छन्। रुसले आक्रमण गरे ५० हजार सर्वसाधारणको मृत्यु हुन सक्ने अमेरिकी चेतावनी छ।

यसैबीच रुसले आक्रमण गर्न सक्ने भन्दै तीन बाल्टिक मुलुकले नेटोलाई पूर्वी युरोपमा सैन्य सहायता बढाउन आग्रह गरेका छन्। इस्टोनिया र लात्भियाका प्रधानमन्त्री तथा लिथुआनियाका राष्ट्रपति, जर्मन चान्सलर ओलाफ सोल्जसँग छलफलका लागि बर्लिन पुगेका छन्।

अमेरिकी राष्ट्रपति बाइडेन र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले आज रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गर्ने अपेक्षा गरिएको छ । पश्चिमा मुलुकले गलत सूचना फैलाएको भन्दै रुसले युक्रेनमा आक्रमण गर्ने योजनालाई बारम्बार अस्वीकार गर्दै आएको छ ।