अब एनआरएनए निर्वाचन नराेकिने {निर्वाचन तालिकासहित}

अब एनआरएनए निर्वाचन नराेकिने {निर्वाचन तालिकासहित}



लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियान्ताहरूले मार्च महिनाको तेस्रो साता तय गरिएको निर्वाचन कुनै पनि हालतमा नरोकिने बताएका छन् । गैरआवासीय नेपाली संघको २१ र २२ मार्चमा तय गरिएको निर्वाचनको तयारीका लागि टिम बद्री केसीले शनिबार आयोजना गरेको अन्तरक्रियामा वक्ताहरुले संघको निर्वाचन हुन ढिला हुँदा अभियान नै गम्भीर दुर्घटना उन्मुख हुन लागेको भन्दै चिन्ता व्यक्त गरे ।

गैरआवासीय नेपाली संघको गत अक्टोबरका लागि तय भएको १०औं महाधिवेशन पटकपटक रोकिएपछि संघका अभियान्ताहरूले संघलाई विघटनको दिशामा लैजान खोजिएको भन्दै आक्रोश व्यक्त गरे । करिब ४० देशका राष्ट्रिय समितिका अध्यक्षहरूको उपस्थिति रहेको कार्यक्रममा बोल्ने वक्ताहरूले संघको महाधिवेशन प्रतिनिधि विवाद मिलाउन गठित उच्चस्तरीय समितिका संयोजक शेष घलेले ६१ देशका महाधिवेशन प्रतिनिधि कटौती गर्न लागेकोप्रति असन्तुष्टि व्यक्त गरे ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीले संघको निर्वाचनको प्रक्रिया अघि बढिसकेको बताउँदै उच्चस्तरीय समितिका दुईजना सदस्य निर्वाचन रोक्न लागिपरेको आरोप लगाए । उनले उच्चस्तरीय समितिका सदस्यहरूलाई महाधिवेशन प्रतिनिधि विवाद मिलाउनेबाहेक अन्य म्यान्डेट नभएको बताए । उच्चस्तरीय समितिका सदस्यहरू म्यान्डेटभन्दा बाहिर गएर मिलाउनभन्दा समस्या बल्झाउने दिशामा लागेको नियत रहेको बताए ।

उनले संघको अभियान गिजोलिएको बताउँदै संघको अभियानलाई अन्डरमाइन्ड नगर्न अनुरोध गरे । उनले कुल आचार्य समूहले आफ्नो पक्षमा भोट नआउने देशका महाधिवेशन प्रतिनिधिलाई तारो बनाएर हटाउन खोजेको बताए । कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले संघको निर्वाचन प्रक्रियामा परराष्ट्र मन्त्रालयले हदभन्दा बाहिर गएर हस्तक्षेप गरेको कारणले बाध्य भएर पाटन उच्च अदालतमा जानुपर्ने बाध्यता आएको बताए । उनले अदालतले चुनाव गराउन वर्तमान कार्यसमितिमा पूर्णअधिकार दिएपछि अध्यक्ष कुमार पन्तले सबै पक्षलाई समेटेर चुनाव बनाउन चाहनु भएको कारणले निर्वाचन गर्न ढिलाइ भएको बताए ।

उनले संघको विवाद मिलाउन गठित उच्चस्तरीय समितिले समस्याको समाधान दिनुको सट्टा चुनाव भाँड्न लागेकोमा आक्रोश पोखे । उनले उच्चस्तरीय समितिले नियमावलीका छिद्रा खोजेर चारवटा देशबाहेकका अन्य देशका महाधिवेशन प्रतिनिधि कटौतीको प्रस्ताव ल्याएको बताए ।

गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीले विभिन्न बहाना बनाएर संघको विवादलाई लम्बाएर चुनाव हुन नदिने षड्यन्त्र भइरहेको बताए । उनले संघभित्र विवाद नीतिको होइन नियतिको भएको बताए । उनले मध्यपूर्वलगायतका देशमा प्रतिनिधि कटौतीको प्रस्तावले विखण्डनको दिशामा गैरआवासीय नेपाली संघको अभियानमा लैजाने बताए । उनले प्रतिनिधि कटौतीको प्रस्ताव आउनु नै दुर्भाग्यपूर्ण भएको बताए ।

उच्चस्तरीय समितिका सदस्यहरूले एक गुटको पक्षको पक्षपोषण गरेकोप्रति खेद व्यक्त गरे । गैरआवासीय नेपाली संघ अफ्रिया क्षेत्रीय संयोजक रोशन थापाले संघको जनमतमाथि प्रहार भएको बताए । उनले संघका पूर्वअध्यक्ष शेष घले समूहले संघको अस्तित्व माथि नै आँच आउने गरी गतिविधि अघि बढाएको बताए ।

यस्तो छ निर्वाचन तालिका

गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन कार्यतालिका गत साता सार्वजनिक भएको थियाे । निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत भीमसेन बन्जराका अनुसार मनोनयन दर्ताको ४ र ५ मार्चबाट सुरु हुने भएको छ । कार्यतालिकाअनुसार यही १७ देखि २२ फेब्रुअरीसम्म प्रारम्भिक महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन गरिनेछ । २३ फेब्रुअरीमा मतदाता नामावली प्रकाशन, २४ देखि २७ फेब्रुअरीसम्म मतदाता नामावलीमाथि दाबी विरोध, आगामी २ मार्चमा दाबी विरोधमाथि निर्णय, ३ मार्चमा अन्तिम नामावली प्रकाशन हुने निर्वाचन समितिले जनाएको छ ।

४ र ५ मार्चमा उम्मेदवारको मनोनयन पत्र दर्ता, ६ मार्चमा उम्मेदवारको पहिलो नामावली प्रकाशन, ६ देखि ७ मार्चसम्म उम्मेदवारको उम्मेदवारीविरुद्ध दाबी विरोध, ८ मार्चमा उम्मेदवारको मनोनयपत्रको जाँच र उजुरीमाथि निर्णय र ९ मार्चमा उम्मेदवारको दोस्रो नामावली प्रकाशन हुनेछ ।

११ मार्चमा उम्मेदवारले मनोनय फिर्ता, १२ मार्चमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र २१ मार्चमा बिहान १० बजेदेखि २२ तारिख बिहान ९ः५९ सम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ । मतदान समाप्त भएलगत्तै मतगणना गर्ने प्रमुख निर्वाचन अधिकृत भीमसेन बञ्जराले जानकारी दिए । संघको अध्यक्षका लागि मनोनयन पत्र दर्ता दस्तुर १० लाख तोकिएको छ ।