लिड्समाथि युनाइटेडको रोमाञ्चक जीत

लिड्समाथि युनाइटेडको रोमाञ्चक जीत



लन्डन । लिड्स युनाइटेडलाई ४-२ गोल अन्तरले पराजित गर्दै इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले रोमाञ्चक जित निकालेको छ । लिड्सको मैदानमा युनाइटेडलाई जिताउन ह्यारी मग्वाएर, ब्रुनो फर्नान्डेज, फ्रेड र एन्थोनी इलान्गाले गोल गरे ।

यस्तै लिड्सका लागि रोड्रिगो मोरेनो र राफिन्फाले एक-एक गोल गरे । जितसँगै युनाइटेड २६ खेलमा ४६ अंक जोड्दै चौथो स्थानमा छ । लिड्स २४ अंक जोडेर १५औं स्थानमा छ ।

इन्टरले शीर्ष स्थान उक्लने अवसर गुमायो
सासौलोसंग २-० अन्तरले पराजित हुँदा इन्टर मिलानले इटालियन सिरी ‘ए’को शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । मिलानको घरेलु मैदान सान सिरोमा सम्पन्न खेलको आठौं मिनेटमा जियाकोमा रासपोडारीले गरेको गोलमा सासौलोले अग्रता लिएको थियो । २६औं मिनेटमा जियानलुका स्काम्काले बललाई जाली चुमाउँदै सासौलोको अग्रता दोब्बर पारेका थिए ।

इन्टरले सबै खाले प्रतियोगिता गरि पछिल्लो पाँच खेलमा एक अंक मात्र जोडेको छ । शीर्ष स्थानको एसी मिलान शनिबार सेलमिटानासँग बराबरीमा रोकिएपछि इन्टरसँग शीर्ष स्थानमा उक्लने अवसर थियो ।

एसी मिलानको २६ खेलमा ५६ अंक छ भने इन्टरको २५ खेलमा ५४ अंक छ । तेस्रो स्थानको नेपोलीको ५३, चौथो स्थानको युभेन्टसको ४७ र पाँचौ स्थानको एट्लान्टाको ४४ अंक रहेको छ । सासौलो २६ खेलमा ३३ अंकसहित ११औं स्थानमा छ । सासौलोको हारसँगै सिरी ‘ए’ मा इन्टरको ६ खेलको अपरजित यात्रामा समेत पूर्णविराम लागेको छ ।