बिदाइ खेलमा च्यासल पराजित

बिदाइ खेलमा च्यासल पराजित



काठमाडौं । दोस्रो डिभिजनमा घटुवा भइसकेको च्यासल युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको अन्तिम खेलमा पनि पराजित भएको छ । बिहीबार भएको अन्तिम चरणको खेलमा च्यासल सातदोबाटो युथ क्लबसँग १–० ले पराजित भयो । लगातार तेस्रो पटक लिग खेलिरहेको च्यासल दुई खेल अगावै दोस्रो डिभिजनमा घटुवा भइसकेको छ । हारसँगै च्यासलले १३ खेलबाट ६ अंक जोड्दै लिग पूरा गरेको छ । च्यासलले लिगमा एक जित, तीन बराबरी र नौ खेलमा हारको नतिजा निकाल्यो । अन्तिम स्थानमा रहेको च्यासलसँगै ब्रिगेड ब्वाइज दोस्रो डिभिजनमा घटुवा भएको छ । च्यासलमाथिको जितसँगै सातदोबाटो भने तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लिगका १३ खेलमध्ये ६ मा जित, तीनमा बराबर र चार खेलमा पराजयको नतिजा आत्मसाथ गर्यो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलको छैठौँ मिनेटमा अजयी मार्टिन्सले गरेको गोल नै सातदोबाटोको जितका लागि पर्याप्त बन्यो । मिडफिल्डर सुदीप गुरुङले मैदानको बीच भागबाट दिएको पासमा अजयीले पेनाल्टी एरिया भित्रबाट सुन्दर गोल गरेका थिए ।जारी लिगको मार्टिन्सको यो छैठौँ गोल हो । साविक विजेता मछिन्द्र फुटबल क्लबले ११औँ चरणमा सातदोबाटोलाई पराजित गर्दै लिगको उपाधि रक्षा गरेको थियो ।