फ्रेन्ड्स र शेर्पाले अंक बाँडे

फ्रेन्ड्स र शेर्पाले अंक बाँडे



काठमाडौं । हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबले सहिद स्मारक ए डिभिजन लिग–२०७८ को अन्तिम खेलमा १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । बिहीबार त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा दोस्रो हाफमा दुबै टोलीले एक एक गोल गर्दै बराबरी खेलेका हुन् । बराबरसँगै फ्रेन्ड्सले १२औँ स्थानमा रहेर लिग टुंगाएको छ । १३ खेलबाट ११ अंक बनाएको फ्रेन्ड्स एक खेलअघि रेलिगेसन जोनबाट बचेको थियो । यता, शेर्पा भने १३ खेलबाट १४ अंकसहित नवौँ स्थानमा छ । उसको भने स्थान टुंगो लागेको छैन । नेपाल पुलिसको खेलपछि शेर्पा र पुलिस दुबैको स्थान पक्का हुनेछ । खेलको ८७औँ मिनेटमा फ्रेन्ड्सका श्याम बाबु क्यापछकीले गोल गर्दै अग्रता दिलाए । तर, दुई मिनेट नबित्दै शेर्पाका विशोन गुरुङले बराबरी गोल फर्काए ।
आज नै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सातदोबाटो युथ क्लबले च्यासल युथ क्लबलाई १–० अन्तरले पराजित गर्याे । यस सिजनको लिग मछिन्द्र फुटबल क्लबले जितिसकेको छ भने ब्रिगेड ब्वाईज क्लब (बीबीसी) र च्यासल युथ क्लब दोस्रो डिभिजनमा घटुवा भएका छन् ।