वैदेशिक रोजगारीबाट स्वदेश फर्केर उद्यम गरेकालाई सरकारले पुरस्कृत गर्ने

वैदेशिक रोजगारीबाट स्वदेश फर्केर उद्यम गरेकालाई सरकारले पुरस्कृत गर्ने



काठमाडौं । सरकारले वैदेशिक रोजगारीबाट फर्केर उद्यम गरेका युवालाई पुरस्कृत गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वरोजगारीमा प्रोत्साहन गर्ने उद्देश्यका साथ वैदेशिक रोजगारीबाट फर्केर उद्यम गरेका युवालाई पुरस्कृत गर्ने बताएको छ ।

जसका लागि मन्त्रालयले वैदेशिक रोजगारबाट फर्केर उद्यम गरेका व्यक्तिसँग आवेदन माग गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीले आगामी फागुन १० गतेभित्र आवेदन दिनसक्ने मन्त्रालयले जनाएको छ । कामदार भिसामा विदेश गई कम्तीमा एक वर्ष काम गरी फर्किएको, वैदेशिक रोजगारीबाट फर्केर व्यवसाय सञ्चालन गरेको न्यूनतम् एक वर्ष पूरा भएको र विगत पाँच वर्षभित्र श्रम मन्त्रालयबाट पुरस्कार प्राप्त नगरेका व्यक्तिले आवेदन गर्न सक्ने सूचनामा उल्लेख छ ।

पुरस्कार आवेदन फाराम श्रम मन्त्रालयको वेबसाइटमा राखिएको छ । आवेदनका साथमा नेपाली नागकिताको प्रमाणपत्र, श्रम स्वीकृति, भिसासहितको राहदानी, आयकर दर्ता प्रमाणपत्र र गत आवको करचुक्ता प्रमाणपत्रको प्रतिलिपि तथा यसअघि पुरस्कार प्राप्त नगरेको स्वघोषणा पेस गर्नुपर्नेछ । आवेदन फाराम मन्त्रालयको रोजगार समन्वय तथा सूचना शाखामा दर्ता गराउन वा इमेल गर्न सकिने सूचनामा उल्लेख गरिएको छ । छनोटका लागि विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७६ बमोजिम श्रम मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखाका सहसचिवको संयोजकत्वमा छ सदस्यीय सिफारिस समिति गठन पनि गरिएको छ ।

सातवटै प्रदेशबाट न्यूनतम एकजना नछुट्ने गरी उद्यमी छनोट गरिनेछ । आवेदकमध्ये एक जनाले एक लाख ५० हजार रुपैयाँसहित उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार र बढीमा सात जनाले ७५ हजार रुपैयाँको उद्यमी राष्ट्रिय पुरस्कार प्राप्त गर्ने छन् ।